विपक्षी गठबन्धनद्वारा प्रदेश नं १ को मुख्यमन्त्रीमा राजेन्द्र राईलाई समर्थन 

आइतबार, कात्तिक १४, २०७८

मोरङ । प्रदेश नं १ का विपक्षी गठबन्धनले नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आज बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई  समर्थन गर्ने निर्णय गरेको हो । नेकां संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डालगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । 
बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा (एमाले)सँग सभामुखसहित ४१ सांसद छन् । 
विपक्षी गठबन्धन नेकाँको २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची रहेको छ ।

प्रदेश १ का विपक्षी गठबन्धन एकै ठाउँमा

प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढाल्न एकै ठाउँमा उभिने निर्णय गरेका छन् । 

प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गरेर आचार्य नेतृत्वको सरकारलाई ढालेर गठबन्धनको सरकार बनाउने निष्कर्षमा उनीहरू पुगेका छन् ।  

पाँच दलीय गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार बनाउने गठबन्धनका दलहरूको भनाइरहेको छ । विपक्षमा गठबन्धनका सबै प्रदेश सांसदले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुत बनाएर अघि बढ्ने दुई बुँदे निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । गठबन्धनमा मतभेद नभएकोले केन्द्रको निर्णय मान्नेसमेत उनले बताए । 

आधा कार्यकालको विषयमा पार्टीभित्र संघर्ष गरिरहेको र अहिले तत्काल केन्द्रीय गठबन्धनले गरेको निर्णय अनुसार नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा गठनबन्धनका दलहरू रहेका छन् ।

गत ७ गते हुने विश्वासको मत लिने बताए पनि कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठक सार्न माग गरेपछि बैठक स्थगित भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला भ्रमणमा आएको मौका छोपी कांग्रेसले देउवालाई चुनौती दिन बैठक सार्न निवेदन दिएको थियो । 

कांग्रेस पार्टीभित्रको राजनीतिक अन्तर्विरोधले प्रदेश १ सभाको बैठक कार्तिक ७ गते सूचना टाँसेर कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक स्थगितका लागि निवेदन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १५ गते सोमबार दिउँसो १२:३० बजेसम्मका लागि सदन स्थगित गरेका थिए । 

मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंगियाउने कार्यसूची तय गरिएको छ । 

मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ । 

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । राप्रपा भने कतै खुलेको छैन ।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  २२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार