सोसल मिडिया
Contact Us
युनिकोड
खोटाङ : मुलुक गणतन्त्र र संघीयतामा गइसकेको छ । तर, गणतन्त्र र संघीयताविरुद्धका नारा घन्किन छाडेका छैनन् ।
शनिबार खोटाङको दिक्तेल बजारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश क्षेत्र (क), (ख) तथा जिल्ला अधिवेशन उद्घाटन पूर्व गणतन्त्र र संघीयताविरुद्ध नारा लगाउँदै र्याली निकालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताले दिक्तेल बजारमा ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन, संघीयता खारेज गरौं, एमसीसी खारेज गरौं’ लगायतका चर्का नारा घन्काएका हुन् । गणतन्त्र र संघीयता ‘जिन्दावाद’ भन्दै नारा घन्किने बजारमा त्यसविरुद्धका नारा लाग्दा कतिपयले भने अनौठो मानेर र्याली नियालिरहेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले विगतको तुलनामा उल्लेख्य भीड उतारेको देखिएको थियो ।
प्रदेश क्षेत्र (क), (ख) तथा जिल्ला अधिवेशन राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समितिका सदस्य एवं पूर्वसभाषद् अर्जुन राईले उद्घाटन गरेका थिए । दिक्तेलको हेलिप्याडमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र जिल्ला समन्वय समितिको समीक्षालय हलमा सुरु भएको छ । सर्वसम्मतीमा प्रदेश क्षेत्र (क), (ख) तथा जिल्लाको नेतृत्व चयन गरिने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पर्ययवेक्षक डम्बर शिवाकोटी, केन्द्रीय सम्पादन समितिका सदस्य रविन राई, केन्द्रीय सम्पादन समितिका सदस्य एवं युवा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, केन्द्रीय सम्पादन समितिका सदस्य विजयकला राईलगायतले सम्बोधन गरेका थिए ।
उनीहरुले विभिन्न पार्टी परित्याग गरेर राप्रपा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए ।