ओलीका पछाडि बयलगाडा वाला मात्रै लाग्छन् : माधव नेपाल

शनिबार, कात्तिक १३, २०७८

विराटनगर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडा वाला मान्छे मात्रै लाग्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले क्रान्तिकारी सोच भएका र अग्रगामीहरू ओलीका पछाडि नलाग्ने दाबी गरे । ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका पुग्नु जस्तै हो भनेको स्मरण गर्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा केपी ओलीका विरुद्ध मात्रै बोलेका नेता नेपालले एमालेभित्र ९ हेक्टर भुइँचालो आएपछि कम्युनिस्ट आन्दोलन बचाउनका लागि अलग बाटो रोजेको बताए । आउने चुनावमा एमाले भन्ने पार्टीलाई टर्च बालेर खोज्नुपर्ने उनको भनाइ थियो । 

सत्ताको घोडामा चढेको बादशाहलाई सडकमा पछारेको भन्दै उनले अब एक नम्बर प्रदेशको सरकारलाई पनि यही हप्ताभित्र सडकमा पछार्ने बताए । कांग्रेस, एकीकृत नेकपा माओवादी, जसपालगायतका गठबन्धन दलसँग छलफल सकिएकोले राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने उनको भनाइ छ । 

उनले राजेन्द्र राईलाई जनताको सरकार भनेर चिनाउने गरी काम गर्न निर्देशन दिए । 'गरिबको सरकार यो रहेछ भन्ने गरी काम गर्नुहोस्,' उनले भने । धनीका समस्या होइन गरिबका समस्या बुझ्ने खालको भएर काम गर्न उनले राईलाई निर्देशन दिएका थिए । पाटीमा बढेको जनलहर देखेर एमाले कार्यकर्तालाई १ सय ४ डिग्री ज्वरो आएको समेत उनको भनाइ थियो ।

चुनावपछि एमालेको हालत नोकियाजस्तै हुन्छ : मेटमणी चौधरी

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् ।

शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन् । त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन् ।’

केपी ओलीले फेरि चुनाव जित्छ भन्नु बेकारको कुरा भएको उनको भनाइ थियो । ‘ओलीको पार्टीले फेरि जनतासँग भोट माग्ने नैतिकता छैन । ओली जत्तिको अक्षम व्यक्ति कोही छैन । के अब फेरि ओलीलाई भोट दिने? किन संसद विघटन गर्न ?’ उनले प्रश्न गरे ।

चौधरीले चुनावबाट समाजवादी देशको पहिलो र शक्तिशाली पार्टी बन्ने दाबी गरे । ‘देशलाई संचालन गर्न सक्ने पार्टी बन्छ । समाजवादीको भविष्य छैन भन्नेलाई जवाफ दिएका छौँ। दुई महिनाको अवधिमा ७५३ स्थानीय तहका वडामा पार्टी स्थापित भएको छ,’ उनले भने ।

नयाँ पार्टीले जनमत पाउँदैन भन्ने कुरालाई २०६४ सालको चुनावले गलत ठहर्‍याइसकेको भन्दै उनले थपे, ‘पुरानो पार्टीले मात्रै चुनाव जित्छ भन्नु बेकार हो । त्यो हो भने कांग्रेसले किन पटकपटक चुनाव हारेको छ ?’ उनले प्रश्न गरे ।

चौधरीले पार्टी विभाजन गरेर कम्युनिस्ट आन्दोलन बचाएको तर्क गरे । ‘पार्टी विभाजन नगरेको भए कम्युनिस्ट आन्दोलन समाप्त हुन्थ्यो । हामीले संविधान बचाएका छौं । कम्युनिस्ट आन्दोलन सकिनुभन्दा विद्रोह सही छ । कानुनी राज्य स्थापना गर्ने काम गरेका छौं,’ उनले भने ।  

समाजवादीले शंखरापुरमा श्याम वाइवाको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी घोषणा गरेको छ । युवाको नगर कमिटी घोषणा पनि घोषणा गरेको छ । समाजवादीले ९ वटै वडामा संगठन विस्तार गरेको अध्यक्ष वाइवाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार