सोसल मिडिया
Contact Us
युनिकोड
दाङ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था असफल भैसकेको बताएका छन् । युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको शनिबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थाले जनताको अधिकार स्थापित गर्नेभन्दा खोस्ने र नेताहरू मात्रै मोटाउने काम भएको भन्दै यसको औचित्य सकिएको दाबी गरे ।
अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नु पर्ने उनको धारणा थियो । त्यसो अवस्था आए आफूहरू चुनावमा जानेसमेत उनले बताए । राज्य सत्ता अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै विप्लवले न्यायलयमासमेत प्रश्न उठ्नु दुर्भाग्यपूर्ण भएको बताए ।
नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र सत्तामा पुगे पनि सत्ता र अधिकार जनतामा फर्काउन नचाहेको दाबी उनको छ ।
भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरीमा सबै लिप्त भएको तर जनताको अधिकार र न्याय स्थापितमा ध्यान नदिँदा अहिलेको व्यवस्थामाथि प्रश्न गर्नुपर्ने बाध्यता आइपरेको उल्लेख गरे । नेता विप्लवले अमेरिकी सहयोग एमसिसी सहयोग लिन सकिने तर निस्वार्थ हुनुपर्ने बताए ।
साथै महासचिव विप्लवले सरकारसँग भएका सम्झौताको कार्यान्वयन हुन नसकेको प्रति आक्रोशसमेत व्यक्त गरे । तत्काल सहमती कार्यान्वयन गरेर इमान्दारिता देखाउने समेत सरकारलाई आग्रह गरे ।
विप्लवको युुवा संगठनको राष्ट्रिय सम्मेलन दाङमा सुरू
नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युुवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सुरु भएको छ । शनिवार पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्मेलनको उद्घाटन गरेका हुन् ।
संगठनले सम्मेलनको उद्घाटन पूर्व घोराही बजारमा र्याली निकालेको थियो । सम्मेलन आयोजक समितिका संयोजक पाटन जंगलीको अध्यक्षता अधिवेशन सुरु भएको हो ।
सोमबारसम्म चल्ने सम्मेलनले युवा संगठनको नयाँ नेतृत्व चयन गर्नेछ । अहिले संगठनका प्रतिनिधिहरु देशभरमा नयाँ नेतृत्व छनोट, नीति विधि निर्माणमा जुटेका छन् ।