सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी

शनिबार, कात्तिक १३, २०७८

धनगढी : सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी छ । बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए ।

उनका अनुसार कैलाली कञ्चनपुरका वडामा तयारी नपुगेका कारण वडा अधिवेशन हुन नसकेको हो भने बझाङमा बाढीपहिरोका कारण आवतजावतमा केही कठिनाइ हुँदा समस्या भएको हो । 

बझाङका केही पालिकामा वडा अधिवेशन भएको तर बाहिर नल्याइएको उनले बताए । उनका अनुसार बझाङमा १४ गते सबै वडामा वडा अधिवेशन सम्पन्न गरेर एकैपटक सार्वजनिक गरिनेछ । हाल बझाङका १६० र कैलालीका चार तथा कञ्चनपुरका १० वडामा एमालेको वडा अधिवेशन हुन नसकेको उनले बताए ।  सचिव रावलका अनुसार शुक्रबारसम्म नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाहेकका आठ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । प्रदेशमम ७३४ वडा रहेका छन् ।

डोल्पाका आठमध्ये छ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

आठवटा स्थानीय तहमध्ये छवटा स्थानीय तहमा नेकपा एमाले डोल्पाले अधिवेशन सम्पन्न गरेको छ । छवटै स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा, गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाले ११ वटै वडा र नगरमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा तथा नगर अधिवेशन सम्पन्न गरेको छ । ठूलीभेरी नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

आगामी आइतबार भित्र नगर अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको नेकपा एमाले डोल्पाले जनाएको छ ।  त्यसैगरी मुड्केचुला, जगदुल्ला, शे–फोक्सुण्डो र काइके गाउँपालिका पनि वडा तथा गाउँ अधिवेशन सम्पन्न भएको नेकपा एमाले डोल्पाका कार्यवाहक अध्यक्ष तुलाचन्द्र बुढाले जानकारी दिए ।

सबै नेतृत्वहरू सर्वसम्मत रूपमा चयन गरिएको उनको भनाइ छ ।  डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा वडा अधिवेशन हुँदै गरेकाले अब छिट्टै गाउँ अधिवेशन पनि सम्पन हुने बुढाको बताए ।

अधिवेशका क्रममा माओवादीको पटक क्षेत्र मानिएको मुड्केचुला गाउँपालिकामा ४७ जनाले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको बुढाले बताए । विकट ठाउँ भएकाले अधिवेशन समयमै सम्पन्न गर्न समय लागेको बताएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार