१०औं महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं :  नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनका लागि २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले २७ कात्तिकमा एकैदिन देशभरबाट प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले १ हजार ९९९ प्रतिनिधि चयन गर्ने निर्णय गरिसकेको छ ।

कसरी चयन हुन्छन् प्रतिनिधि ?

अहिले एमालेसँग ७ लाख २१ हजार पार्टी सदस्य छन् । प्रवक्ता ज्ञवालीका अनुसार प्रतिनिधि तीन खालका हुनेछन् । केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरु पदेन प्रतिनिधि हुनेछन् ।

पदेन प्रतिनिधिबाहेक विभिन्न भुगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न रेसियोबाट प्रतिनिधि चयन गरिनेछ । त्यसका लागि हरेक निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर कम्तीमा एक जना महिला र दुईजना खुला गरेर तीन जना अर्थात हरेक निर्वाचन क्षेत्रबाट तीन जना हुनेछन् ।

त्यसबाहेक एक हजार सदस्य बढ्दै जाँदा एक जना थपिनेछ । ५१ प्रतिशत प्रतिनिधि समावेशी हुनेछ । जसमा ३३ प्रतिशत महिलाका अतिरिक्त आदिवासी, जनजाति थारु मधेसी मुस्लिम दलित पिछडिएको क्षेत्रसहित कलस्टर छुट्याएको छ । ४९ प्रतिशत खुला गरेर प्रतिनिधि चयन हुनेछ ।

त्यसबाहेक हरेक जिल्लाबाट एक एक जना दलित प्रतिनिधि चयन हुनेछन् । अर्को हरेक प्रदेशबाट मजदुर पार्टी सदस्यबाट मजदुर प्रतिनिधि चयन हुनेछ । त्यसैगरी हरेक जनसंगठनबाट ५/५ जना प्रतिनिधित्व हुनेछ । केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर त्यहाँबाट दुई जना महिला र एकजना खुला गरेर तीन जना त्यहाँबाट निर्वाचित हुनेछन् । प्रवासका समर्थक शुभचिन्तकबाट २० जना प्रतिनिधित्व गराइने प्रवक्ता ज्ञवालीले बताए ।

बैठकमा १०औं राष्ट्रिय महाधिवेशनमा प्रयोग हुने विद्युतीय मेसिनमा डेमो मतदान गरेर परीक्षण गरिएको थियो ।  

बैठकमा अध्यक्ष ओलीले बाँकी रहेका पालिका र वडा अधिवेशन छिट्टै गर्न निर्देशन दिए । न्यायालयमा देखिएको अराजकता भद्रगोल वेथितिहरुका बारेमा पनि कुराकानी भएको थियो ।

केन्द्रीय कमिटीको आगामी बैठक ९ मंसिरमा चितवनको सौराहमा बस्ने ज्ञवालीले बताए ।

एमाले केन्द्रीय समितिले थप्यो साढे चार सय महाधिवेशन प्रतिनिधि

नेकपा एमालेको केन्द्रीय समिति बैठकले साढे चार सय महाधिवेशन प्रतिनिधि थप्ने निर्णय गरेको छ ।  

बिहीबार बसेको स्थायी कमिटीले १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णयसहित गरेको प्रस्तावमा आज बसेको केन्द्रीय समितिमा छलफल भएको थियो । छलफलमा केन्द्रीय सदस्यहरुले बढाउनुपर्ने सुझाव राखेपछि ४६३ प्रतिनिधि थपिएको हो । 

थपिएको संख्यासँगै प्रतिनिधिको संख्या १ हजार ९९९ पुगेको छ । 

'स्थायी कमिटीबाट १५ सयभन्दा बढी प्रतिनिधि प्रस्ताव भएको थियो,' प्रवक्ता प्रदीप ज्ञवालीले भने, 'केन्द्रीय सदस्यहरुले बढाउनुपर्छ भनेर सुझाव दिनुभएको छ । सुझावअनुसार प्रतिनिधि संख्या अब १ हजार ९९९ हुनेछ । करिब ४  सय बढी सदस्य थप्ने निर्णय भएको छ ।'

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपिए

नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई मूल व्यवस्थापन समितिमा थप्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

'स्थायी कमिटीबाट प्रस्ताव गरेअनुसार १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेर २३ सदस्यीय बनाएको छ,' ज्ञवालीले भने ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल नेतृत्वको मूल व्यवस्थापन समितिमा सुरेन्द्र पाण्डे सहसंयोजक छन् । समितिले नारायणी नदी किनारमा महाधिवेशन खुला सत्र गर्ने र सौराहमा बन्द सत्र गर्ने तय गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार