सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ ।
१० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले उदासिनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गरेका थिए । अध्यक्ष ओलीलाई लिखित राजीनामा पनि दिएका थिए । उक्त राजीनामा आजको स्थायी कमिटीले स्वीकृत गरेको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘भीम रावलले राजीनामा बुझाउनुभएको छ । अब कार्यदलका अरु सदस्यले काम अगाडि बढाउँछन् ।’
ज्ञवालीले कार्यदलका अन्य सदस्यबाट समस्या समाधान हुन नसकेमा स्थायी कमिटीले टेकओभर गर्ने पनि बताए । ‘आवश्यक पर्यो भने स्थायी कमिटीले आवश्यक निर्णय गर्छ । कामलाई अगाडि बढाउँछ,’ उनले भने ।
यसरी चयन हुनेछन् एमालेका महाधिवेशन प्रतिनिधि, कति छन् कुल सदस्य ?
नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएको छ । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । स्थायी कमिटीको निर्णयलाई भोलि बस्ने केन्द्रीय कमिटीमा लैजाने र थपघट हुनसक्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयन हुने व्यवस्थामा रहेर छलफल अगाडि बढायौं । अहिले एमालेसँग ७ लाख २१ हजार पार्टी सदस्य छन् । १५ सय ३६ जना प्रतिनिधिहरु १० औं महाधिवेशनका निम्ति चयन गर्नेछौं,’ उनले भने ।
प्रवक्ता ज्ञवालीका अनुसार प्रतिनिधि तीन खालका हुनेछन् । केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरु पदेन प्रतिनिधि हुनेछन् ।
पदेन प्रतिनिधिबाहेक विभिन्न भुगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न रेसियोबाट करिब ११९६ जना प्रतिनिधि चयन गरिनेछ । त्यसका लागि हरेक निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर कम्तिमा एक जना महिला र दुईजना खुला गरेर तीन जना अर्थात हरेक निर्वाचन क्षेत्रबाट तीन जना हुने उनले बताए ।
त्यसबाहेक एक हजार सदस्य बढ्दै जाँदा एक जना थपिनेगरी यसहिसाबले भुगोलबाट चयन हुने ११९६ जना, पदेन २६२ जना र यसको ५ प्रतिशतले हुने मनोनयन गरेर १५३६ जना प्रतिनिधि चयन हुने व्यवस्था प्रस्ताव गरेको ज्ञवालीले जानकारी दिए । ‘यसमा ५१ प्रतिशत प्रतिनिधि समावेशी हुनेछ । ३३ प्रतिशत महिलाका अतिरिक्त आदिवासी, जनजाति थारु मधेसी मुस्लिम दलित पिछडिएको क्षेत्रसहित कलस्टर छुट्याएका छौं । ४९ प्रतिशत खुला गरेर प्रतिनिधि चयन हुनेछ,’ उनले भने ।
त्यसबाहेक हरेक जिल्लाबाट एक एक जना दलित प्रतिनिधि चयन हुनेछन् । अर्को हरेक प्रदेशबाट मजदुर पार्टी सदस्यबाट मजदुर प्रतिनिधि चयन हुनेछ । त्यसैगरी हरेक जनसंगठनबाट ५/५ जना प्रतिनिधित्व हुनेछ । केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर त्यहाँबाट दुई जना महिला र एकजना खुला गरेर तीन जना त्यहाँबाट निर्वाचित हुनेछन् । प्रवासका समर्थक शुभचिन्तकबाट २० जना प्रतिनिधित्व गराइने प्रवक्ता ज्ञवालीले बताए ।
बैठकमा महाधिवेशन मूल आयोजक कमिटीबाट सहसंयोजक सुरेन्द्र पाण्डेले चितवनमा हुने महाधिवेशनको तयारीका सन्दर्भमा प्रारम्भिक कामहरुबारे जानकारी गराएका थिए । नारायण नदी किनारमा खुला सभा गर्ने र सौराहको पर्यटकीय स्थलमा बन्दसत्र गर्ने जानकारी गराए ।