सोसल मिडिया
Contact Us
युनिकोड
कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पारे । उनले भने, ‘पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।’ देशको स्वतन्त्र न्यापालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो । “ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो”, अध्यक्ष नेपालले भने । नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उनले उल्लेख गरे । “कम्युनिष्ट पार्टी नेताप्रधान नभई नीति र विचारप्रधान हो”, उनले भने । फरक प्रसङ्गमा अध्यक्ष नेपालले आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरुको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारे ।
‘जनताको सेवा गर्नका लागि पार्टी गठन गरेका छौँ’ अध्यक्ष नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताएका हुन् । स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीको गठन भएकाले सबैको साथ हँुदा पार्टीपङ्क्ति बलियो हुने धारणा राखे । राज्यको आधारभूत दायित्व गाँस, बाँस, कपास, स्वास्थ्य र सुरक्षा रहेकाले त्यसको ग्यारण्टी गरिनुपर्ने उनले बताए । अध्यक्ष नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गरे । पाँच दलको गठबन्धन चुनावसम्म कायम रहने दृढता व्यक्त गर्दै उनले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
एकीकृत समाजवादीले गठन ग¥यो विभिन्न आयोग, परिषद् र मञ्च नेकपा (एकीकृत समाजवादी) ले विभिन्न आयोग, परिषद् मञ्च गठन गरेको छ । शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग, माधव पौडेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् गठन गरिएको हो । उक्त परिषद्मा सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने पोलिटव्यूरो सदस्य दीलुकुमारी पन्तले जानकारी दिए । त्यस्तै सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ । पार्टीको केन्द्रीय निकायका रूपमा केन्द्रीय परिषद् गठन गरिने भएको छ । उक्त परिषद्मा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी तथा सदस्य र जिल्ला कमिटीका अध्यक्षहरू रहनेछन् । ती निकायमा हरेक निर्वाचन क्षेत्रका आधारमा आउने सङ्ख्यामा कम्तीमा एकतिहाइ महिला सदस्य हुनुपर्ने छ । हरेक जनसङ्गठनबाट सम्बन्धित सङ्गठनमा रहेको सङ्गठित सदस्य सङ्ख्याको अनुपातमा प्रतिनिधित्व हुनुपर्ने र खुला रूपबाट पनि केही सङ्ख्याका सदस्य समावेश गरिने भएको छ। केन्द्रीय कमिटीले केन्द्रीय परिषद्का सदस्यलाई आवश्यकतानुसार विभिन्न फाँट तथा जिल्लाको सह–इञ्चार्जको जिम्मेवारी दिन सकिनेछ । यसैगरी केन्द्रीय परिषद्का सदस्य प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी पनि ती निकायमा रहन सक्नेछन् । केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चमा अध्यक्ष उपाध्यक्ष र सचिव पदाधिकारी रहनेछन् । प्रदेश तथा स्थानीय तहका कमिटीमा भने एक अध्यक्षसहित दुई उपाध्यक्ष, एक सचिव र तीन उपसचिव गरी सात पदाधिकारी रहनेछन् । प्रदेश तथा स्थानीय कमिटीका सात पदाधिकारीमध्ये कम्तीमा एक महिला हुनुपर्नेछ । विभिन्न जनवर्गीय सङ्गठन गठन गर्ने क्रम पनि जारी छ ।