सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरू बिहीबार पनि आन्तरिक छलफलमा बस्ने भएका छन् ।
बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले बुधबारको छलफल कुनै निष्कर्षमा पुग्न नसकेको न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिए ।
‘मंगलबार पूर्वन्यायाधीशको निधनले शोकमा रहेकाले छलफल निष्कर्षमा पुग्न सकेन । त्यसैले हामी भोलि बिहान साढे ११ बजेतिर छलफलमा बसेर नयाँ धारणा बनाउने छौं,’ उनले भने । सर्वोच्च अदालतका १८ जना असन्तुष्ट न्यायाधीशहरूले लगातार तेस्रो दिन पनि मुद्दाको सुनुवाइ गरेनन् । मुद्दाको सुनुवाइ गर्ने बेला उनीहरू आन्तरिक छलफलमा बस्ने गरेका छन् ।
बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध अदालतमा रिट दर्ता गर्ने तयारी
बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर फर्किएका अभियानकर्मीमध्येका अधिवक्ता स्वागत नेपालले बन्दीप्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दाको समेत सुनुवाइ नगरेको भन्दै प्रधानन्यायाधीशलाई आपत्ति जनाइसकेको र बिहीबार पनि सुनुवाइ नगरे मुद्दा दर्ताको तयारी गरेको जानकारी दिए ।
न्यायाधीशसँगै सिंगो नेपाल बार प्रधानन्यायाधीशविरुद्ध लागिरहेका बेला नेपालसहितका अधिवक्ताहरू कृष्ण प्रसाई, अनिल उपाध्याय, नवीन मैनालीलगायत १५ कानुन व्यवसायी आन्दोलनका नाममा मुद्दा नहेर्ने न्यायाधीशविरुद्ध मुद्दाको तयारीमा जुटेका हुन् ।
‘बिहीबार पनि न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरण जस्ता मुद्दा हेरेनन् भने हामी सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्छौं,’ अधिवक्ता नेपालले भने ।