तिमी के हौ ?

कविता
बुधबार, असार २३, २०७८

अस्ति निस्मन अध्याँरोमा

जून बोकेर ल्याउछु भन्यौ
टुकिमा तेल थिएन 
चोटामा उज्यालो पसे पछि 
पकाए खाना 

कहिले 
मरुभूमिमा पानी उमार्ने कुरा गर्छौ 
पातालमा पुगेर आए भन्छौ 
तीखो काँडालाई फूल भन्दै 
शिउरी दिन्छौ 
शरदमा न्यानो घाम उघाएर 
हत्केला भरी राखिदिन्छौ 
मैले मायाका कुरा गर्छु 
तिमी देशको चिन्ता लिन्छौ 
भन न तिमी के हौ ?

धन हुनेलाई गरिव भन्छौ 
मन हुनेलाई धनी भन्छौ 
सोथेमा तेल सकियो 
ठेकीमा घ्यु रित्तियो 
तिमी रित्तो भाडामा चिल्ला कविता 
पकाउछौ र 
भोकै निदाउँछौ 
ठोसमा तरल देख्छौ
तरलमा ठोस देख्छौ
गर्मीमा जम्छौ 
जाडोमा पग्लिन्छौ 
भन तिमी के हौ ?

बैरो भनुँ
सुन्छौ
लाटो भनुँ 
बोल्छौ
अन्धो भनुँ 
देख्छौ

तर
दैलो को कुनामा रित्तो गाग्री तिर्खाएर लडेको थाहा पाउँदैनौ 
गोठमा पशु भोकाएर घोक्रो सुकुन्जेल 
कराएको सुन्दैनौ 
दर्जनौ चुरा बज्थे यी हातहरुमा 
तिम्रै अघि रित्तो हातले खाना पस्केको 
देख्दैँनौ 

सङ्गिले करोड कुरा गर्छन 
तिम्ले रोडका कुरा गर्छौ 
उनिहरु चारतारेमा अघाएको कुरा गर्छन 
तिम्ले गरिवका भोकका कुरा गर्छौ 
उनिहरु अकुत जम्मा गर्छन 
तिम्लाई भ्रष्टाचार लाग्छ 
भन न तिमी के हौ ?

 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार