शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान : आयोग

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताउनुभयो । उहाँले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले कूल खसेको मत यकिन सङ्ख्या र प्रतिशत प्राप्त भइनसकेको स्पष्ट पारे ।
वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको र खटिएका सुरक्षाकर्मी र कर्मचारीबाट आयोगलाई यथेष्ट सहयोग मिलेको बताउँदै प्रवक्ता शर्माले उहाँहरु सबैलाई धन्यवाद दिए। एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफलपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिए।
आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको थियो । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् ।

 छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटना भएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो ।
यद्यपि समग्रमा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको नेपाल प्रहरीको निष्कर्ष छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट घटना देखिए पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए । उनका अनुसार अपराह्न पाँच बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार आज ३० भन्दा बढी जिल्लामा ११० घटना भएको छ । उहाँका अनुसार अझै पूर्ण विवरण आउन भने बाँकी छ ।
प्राप्त विवरणअनुसार विवादका कारण अवरुद्ध भएका ४० वटा मतदानस्थलमा पुनःमतदान गरिएको थियो । उहाँले काभ्रे, सप्तरी, सर्लाहीलगायतका केही मनदानस्थलमा मतदान स्थगित भएको  जानकारी आएको बताउनुभयो । केही जिल्लामा वर्षासमेतले मतदान प्रभावित बनाएको थियो ।
केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए। हुम्लाको एक ठाउँमा भने अश्रुग्यास नै प्रहार भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन भएको हो । आज बालिग मतदाताले आप्mनो मताधिकार प्रयोग गरेका छन् ।
निर्वाचनकै इतिहासमा पहिलो पटक मतदाताका रूपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले समेत मतदान गर्न पाएको दिन हो आज । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो । कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने, मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्छ । निर्वाचन आयोगले सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाएको र सबै मतपेटिका सङ्कलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।  
स्थानीय तहको निर्वाचन पहिलोपटक एकै चरणमा गरिएको हो । नेपालमा संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि विसं २०५४ मा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो ।
अहिले एकैपटक देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ०७ बजेदेखि मतदान प्रारम्भ भएको थियो । यसपटक ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुने छन् ।
स्थानीय तह सदस्य निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।
कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा रहनुभयो । त्यसमध्य ३९० जना यसअघि नै निर्विरोध भइसक्नुभएको छ । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए । निर्वाचनमा एक लाख नौ हजार ८८ कर्मचारी खटिइएका छन् । ६५ हजार ८६५ स्वयंसेवक र पाँच हजार पर्यवेक्षक तथा दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए ।
नेपालको संविधान २०७२ को अनुसूचीमा स्थानीय तहलाई महत्वपूर्ण अधिकार दिइएको छ । त्यही अधिकार प्राप्त भएका कारण गाउँठाउँको विकासका लागि सङ्घको मुख ताकिरहनु पर्दैन । त्यसैले पनि २०७२ अघिको स्थानीय निकायको तुलनामा अहिलेको स्थानीय तहको जिम्मेवारी ठूलो छ । गाउँको विकासमा स्थानीय तहले आफैँ निर्णय गरेर कार्यान्वयन गर्न सक्नेछ । स्थानीय तह आफैँमा सरकार र संसद् पनि हो ।
परिचित जनप्रतिनिधि हुने भएकाले पनि समुदायले निर्धक्कसँग कुरा राख्न सक्ने हुँदा पनि नागरिक निर्वाचनमा विभिन्न समस्याका बाबजुद सहभागी भएका थिए । कोही लौरे टोकेर त कोही बच्चा काखी च्यापेर मतदानमा सहभागी थिए । कसैले ह्वील चेयरमा बसेर पनि मत खसाले भने पाका उमेरकाले पनि मताधिकार प्रयोग गरेका दृश्य देखिएको थियो ।
आज मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिए पनि पाँच बजे मतदानस्थलभित्र प्रवेश गरेकाले मत खसाल्न पाउने हुँदा केही ठाउँमा मतदान अन्तिम चरणमा छ ।–रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार