अठार वर्षमुनिका बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’

मंगलबार, मंसिर ७, २०७८

काठमाडौँ, ७ मङ्सिर ।  बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका छन् । शिक्षामन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका छन् । शिक्षामन्त्रीले बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए । स्वास्थ्यमन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि एक करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी र्दिए। मन्त्री खतिवडाले तीन करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिनुभयो । बाह्र वर्षभन्दा मुनिका बालबालिकालाई डब्लुएचओले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख  ५१ हजार ४४९ विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ । जसमा पाँचदेखि नौ वर्ष उमेर समूहका ३१ लाख नौ हजार १७५ रहेका छन् । नौदेखि माथि उमेर समूहका ३६ लाख ४२ हजार २७४ रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार