सहयोगकै भरमा दशैँ मनाउँछन् चेपाङ परिवार

बुधबार, असोज २०, २०७८

लमजुङ : 

सात पुस्ताअघि मकवानपुरको लोथरबाट वरबोट फाँटमा आएर बसोबास गर्दै आएको चेपाङ समुदायको जीवनशैली निकै कष्टकर रहेको छ ।

साँझ-बिहान हातमुख जोड्न धौधौ पर्ने चेपाङ समुदाय कतैबाट राहत पाउँदा खुसीको सास फेर्छन् । चेपाङ समुदायकी अगुवा अमृता चेपाङले कसैले खाद्यान्न र कसैले लत्ताकपडा सहयोग गर्ने गरेको बताइन् । ‘हामी दु:खी, गरिब छौँ, आर्थिक अवस्था कमजोर छ भनेर ल्याइदिएका होलान् । दशैँ, तिहार जस्ता चाड पनि अरूले ल्याइदिएको अन्नले मान्नुपर्छ’, उनले भनिन् । 

वरबोट फाँटमा नौ र हिलेटक्सारको भिरकुनामा दुई घर गरी जिल्लामा कुल ११ घर चेपाङको बसोबास रहेको छ । आर्थिक, शैक्षिक, स्वास्थ्य र रोजगारीका दृष्टिकोणले निकै पछाडि परेका चेपाङहरूको गुजारा सामान्य ज्याला मजदुरी, अधियाँ प्रथाको खेतीबाली, बाख्रा र कुखुरा पालनबाट चल्दै आएको ६५ वर्षीया सुकमान चेपाङ बताउँछन् । 

बासका लागि अधिकांशको घर छैन, कच्ची पर्खालमा जस्ताले छाएको अस्थायी टहरामा बस्दै आएका छन् । आफ्नै पर्याप्त जग्गा नहुँदा उनीहरू समस्यामा पर्ने गरेका छन् ।

सुकमानका अनुसार चेपाङका परिवार अझै पनि गिठा-भ्याकुर खाएर बाँच्नुपर्ने अवस्था छ । अचेल त्यही गिठा-भ्याकुर पनि पाउन मुस्किल परेको उनले बताए । ‘जग्गा जमिन छैन । हामी सबै अरूको काम गरेर खाने मान्छे हौँ’, उनले भने । 

उनले सहयोग पाएपछि मात्र बस्तीमा रमाइलोको रौनक छाउने बताए । बालबालिका कोही नाङ्गै, कोही झुत्रा र फोहोर लुगा बेरिएर बस्न बाध्य भएको उनले बताए । चेपाङ संघकी जिल्ला अध्यक्ष कल्पना चेपाङका अनुसार खान, लगाउनकै लागि चेपाङ समुदायलाई ऋण गनुपर्ने बाध्यता छ । 

धेरैजसो बालबालिका पढ्नमा भन्दा घरायसी कामकाज, ज्यालामा मेलापात, गाईबस्तुको गोठालो, भाइबहिनी हेर्ने काममा व्यस्त हुने स्थानीय गोविन्दराज पन्त बताउँछन् । अझै पनि गाउँमा सचेतनाको कमी रहेको उनको भनाइ छ । 

वर्षौंदेखि आर्थिक समस्या खेप्दै आएका चेपाङको जीवनयापनमा २०७२ वैशाखमा गएको भूकम्पले थप जटिलता निम्त्याएको पन्तले बताए ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २१:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असोज २०, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असोज २०, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असोज २०, २०७८