उपचार अभावले युवावस्थामै खोरमा बस्न बाध्य

शुक्रबार, असोज १, २०७८

पाल्पा । मुलुकले पञ्चायत,राणाशासन,गणतन्त्र,लोकतन्त्रजस्ता धेरै राजनीतिक घटनाक्रमको परिवर्तन भोग्यो । तर नागरिकले भने अहिलेसम्म न गणतन्त्रको महसुस गर्न पाए न लोकतन्त्रको नै ? यतिसम्मकी निमुखा गरिब जनता उपचारको अभावमा खोरमा  बस्नुपर्ने बाध्यता छ ।  नेपाली जनताले जति बेला निर्वाचन आउँछ त्यो बेला सुन्ने एक मात्रै कथन हुन्छ जनता रोग र भोकले मर्नुपर्दैन । तर यो कथन चुनाव सकिएसँगै सेलाएर जान्छ । चुनाव जित्नकै लागि सीमित हुन्छ । राज्यले हरेक वर्षको नीति तथा कार्यक्रममा विपन्न, गरिब जनताको स्वास्थ्य उपचारका लागि महत्वाकांक्षी सहुलियतको कार्यक्रम घोषणा गर्दछ । तर ती कार्यक्रम घोषणामै सीमित हुन्छ । जनता उपचारको अभावमा खोरभित्र थुनिएर बसिरहेको छ । कुनै निकायले हेरेको छैन । हो यस्तै बाध्यताको उदाहारण बनेका छन् पाल्पाको तानसेन नगरपालिका वडा नं १० गडसालका एक युवा । उमेरले ३४ वर्ष पुगे तुलाराम कामी । तुलाराम सामान्य हिड्डुल गर्न सक्छन् तर बोल्न सक्दैनन् । यो उनको जन्मजात समस्या हो । उनको हातखुट्टा राम्रोसँग चल्दैन । उनको हात,खुट्टामा घाउका चोटहरु छन् । नियमित फिजियोथेरापी गराउने हो भने उनको उपचार सम्भव छ । तर उपचार गराउनु त परको कुरा अस्पतालसम्म पुर्‍याउन गाडी भाडासमेत जुटाउन आपत् छ । उनी दैनिक उपचारको अभावमा घरभित्रै थुनिएर दैनिकी बिताउँदै आएका छन् । तुलारामलाई घरको पिँढीमा बनाइएको बाँसको खोरमा थुनेर राख्ने गरिएको छ । तुलाराम मानसिक बिरामी भएकोले आफूहरु घरमा नभएको अवस्थामा थुनेर राख्ने गरिएको उनकी आमा मनसरी कामीले बताइन् । जन्मदै शारीरिक, मानसिक रुपमा अपांगता भएको, आफूहरु दिनभरी काममा हिँड्नुपर्ने र छोरालाई घरमा एक्लै बाहिर छोड्दा हराउने, कतै ढिकबाट लड्ने, गाउँमा पुगेर अरुलाई दुःख दिने डरले आफूहरुले खोरमा थुनेर राख्ने गरेको आमा मनसरी सुनाउँछिन् । मनसरीका पति तेजबहादुर कामी पनि बोल्न सक्दैनन् । तर उनले अरुले भनेको कुरा बुझ्ने र सोही अनुसार काम गर्ने गर्छन् । तेजबहादुर मेलापात र ज्याला मजदुरी काम गर्छन् । फुर्सदको समयमा डोको बुन्ने काम पनि गर्छन् । त्यसैको पैसाबाट घरखर्च धानेका छन् । उनका २ छोरी र २ छोरा छन् । छोरीहरुमा कुनै पनि समस्या छैन । त्यसैले उनीहरुको बिहे पनि भइसकेको छ । तर दुबै जना छोरा भने अपांग छन् । कान्छा छोरा शिव कामी २८ बर्षको पुगे । उनी पनि बोल्न सक्दैनन् ।  घरमा दुबै जना बोल्न नसक्ने भएकोले निकै दुःख भएको मनसरीको भनाइ छ ।आफूहरू बुढाबुढी बाचुञ्जेल छोराहरुको रेखदेख जसोतसो गरे पनि आफूहरुको शेषपछि छोराहरुलाई कसले हेरविचार गर्ला, कसले खान देला भन्ने पिरलोले सताउने गरेको मनसरीले बताउँछिन् । दिउँसोको समयमा छोरालाई पिँढीको खोरमा थुनेर राख्ने गरेको र रातिको समयमा कहिलेकाँही घरभित्र लैजाने गरेको मनसरीले जानकारी दिइन् । आफूहरु सबै घरमा रहेका बेला कहिलेकाँही खोरबाट बाहिर निकाल्ने गरेको उनको  भनाइ छ । तुलारामलाई हिँड्डुल गर्न सक्ने अवस्थादेखि नै यसरी राख्ने गरिएको छ । छोराको उपचार र नियमित फिजियोथेरापी गराउने हो भने निको हुन्छ भनेर धेरैले भन्ने गरे पनि आर्थिक अवस्था कमजोर भएकै कारण उनको उचित उपचार र फिजियोथेरापी गर्ने ठाउँसम्म लैजान नसकिएको मनसरीले बताइन् । यो परिवारले दैनिक गुजारा निमेक गरेरै चलाउँदै आएको छ । घरनजिकै सानो पाटो बारी छ । तर त्यहाँ फलेको मकैले १ महिना पनि पुग्दैन । सानो बारीमा लगाएको सबै मकै पनि भित्र्याउन नपाएको मनसरीले बताइन् ।  तानसेन नगरपालिका–१० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनाले आफू निर्वाचित भएलगत्तै तुलारामको अवस्था थाहा पाएपछि आफ्नै निजी गाडीमा राखेर सदरमुकाम लगेर २०७६ सालमा तुलारामको नागरिकता बनाइदिएको बताए । पछि जिल्लास्तरीय टोली नै घरमै ल्याई २०७६ माघ महिनामा तुलारामलाई पूर्ण अपांगताको परिचयपत्र उपलब्ध गराई सरकारको तर्फबाट मासिक ३ हजार रुपैयाँ अपांगता भत्ता उपलब्ध गराउँदै आएको तिमिल्सिनाले बताए । उपचार गर्न सक्ने हो भने निको हुन सक्ने भएकोले सहयोगी व्यक्तिको खोजीमा तुलारामको परिवार रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असोज १, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असोज १, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असोज १, २०७८