विश्वको पहिलो डीएनए कोभिड खोप भारतमा स्वीकृत 

शनिबार, भदौ ५, २०७८

नयाँदिल्ली । भारतको औषधि नियामक निकायले आपत्कालीन प्रयोगका लागि कोरोनाभाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई स्वीकृति प्रदान गरेको छ। तीन मात्रा दिनुपर्ने जाईकोभ डी (ZyCoV-D) नामक उक्त खोप लिएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त सङ्क्रमण हुन नपाएको खोप उत्पादन गर्ने कम्पनी क्याडिला हेल्थकेअरले गरेको एउटा अध्ययनमा उल्लेख छ । उक्त कम्पनीले प्रत्येक वर्ष एक करोड २० लाख मात्रा खोप उत्पादन गर्ने योजना बनाएको छ। यो भारतमै निर्मित दोस्रो खोप हो । यसअघि निर्माण गरिएका डीएनए खोपहरूले पशुमा मात्र राम्ररी काम गरेका थिए । भारतमा कोभिशील्ड, कोभ्याक्सीन र स्पुत्निक भी गरी तीन किसिमका खोप प्रयोगमा छन् । अहिलेसम्म ती खोपका ५७ करोड मात्रा दिइसकिएको छ । क्याडिला हेल्थकेअरका अनुसार उक्त खोपको भारतमा गरिएको सबैभन्दा ठूलो क्लिनिकल परीक्षणमा २८,००० जना स्वयंसेवी सहभागी भएका थिए । त्यसका लागि ५० वटाभन्दा बढी केन्द्रहरू सञ्चालित भएको उसले जनाएको छ । उक्त कम्पनीले भारतमा पहिलो पटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड-१९ को खोपको परीक्षण गरिएको दाबी गरेको छ। उक्त खोप त्यो उमेर समूहका मानिसमा 'सुरक्षित र एकदमै सह्य' भएको पाइएको क्याडिला हेल्थकेअरको दाबी छ । उक्त खोपको क्लिनिकल परीक्षणको तेस्रो चरण भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको बेला गरिएको थियो । त्यसबाट विशेषगरी अतिसङ्क्रामक डेल्टा भेरिअन्टजस्तो कोरोनाभाइरसको 'उत्परिवर्तित प्रकारविरुद्ध' उक्त खोपको प्रभावकारिता सिद्ध भएको खोपनिर्माताको विश्वास छ ।
'म यो खोपबारे उत्साहित छु किनभने यसले निकै राम्रो क्षमता देखाएको छ। यो खोपले काम गर्‍यो भने भविष्यमा खोप अभियान व्यावहारिक रूपमा अझ सहज हुन्छ' भाइरसविद् प्रा. शाहिद जमीलले भने ।
डीएनए र आरएनए जीवनका आधारभूत तत्त्व हुन् । ती तत्त्वमा आनुवंशिक सूचनाहरू हुन्छन् जुन जीवबाट तिनका सन्तानमा प्रसारित हुन्छन् । डीएनए खोप लिएपछि त्यसले पनि अरू खोपले जस्तै शरीरको प्रतिरोध प्रणालीलाई भाइरससँग सङ्घर्ष गर्न सिकाउँछ । 
जाईकोभ-डीमा प्लाज्मिड भनिने साना गोलाकार डीएनए प्रयोग गरिएको छ। खोपमा भएको आनुवंशिक सूचनावाहक त्यस्तो डीएनए मानिसको छालाको दुई तहको बीचमा पुग्छ । कोरोनाभाइरसले मानवकोषमा टाँसिन र भित्र प्रवेश गर्न प्रयोग गर्ने काँडेदार ूस्पाईक प्रोटीनू बनाउन लगाउने सङ्केत ती प्लाज्मिडमा हुन्छ । अधिकांश कोभिड खोपहरूले मानवशरीरलाई स्पाईक प्रोटीन बनाउन लगाउने निर्देशन दिन्छन् । त्यसबाट मानिसको प्रतिरोध प्रणाली सक्रिय भई कोरोनाभाइरसविरुद्ध एन्टिबडी उत्पादन हुन थाल्छ र शरीरलाई उक्त भाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्छ ।
यो कोभिड-१९ विरुद्ध निर्मित पहिलो डीएनए खोप हो । अमेरिकामा पशुहरूको उपचारमा प्रयोग गर्न केही डीएनए खोपले अनुमति पाएका छन् । तिनमा घोडामा हुने एउटा रोग र कुकुरमा हुने छालाको क्यान्सरविरुद्ध निर्मित खोपहरू पर्छन् । यद्यपि अमेरिकामा मानिसहरूमा १६० प्रकारका विभिन्न डीएनए खोपको मानिसमा क्लिनिकल परीक्षणहरू भइरहेका छन् । तीमध्ये अधिकांश क्यान्सर उपचारसँग र एकतिहाइ एचआईभीको उपचारसँग सम्बन्धित छन् । जाईकोभ (डी) भारतका लागि घोच्ने सुईबिनै दिन सकिने पहिलो खोप पनि हो । सुई आवश्यक नपर्ने र एकचोटि प्रयोग गरेपछि फ्यालिने इन्जेक्टर प्रयोग गरेर यो खोप दिइन्छ। त्यस्तो साधन प्रयोग गर्दा खोपमा भएको तरल द्रव्य छालाभित्र छिर्छ र उपयुक्त तन्तुसम्म पुग्छ ।
'कुनै सङ्क्रमणविरुद्ध काम गर्ने डीएनए खोप हुनु भनेको ठूलो कुरो हो । यदि यसले राम्रो सुरक्षा प्रदान गर्छ भने यो भारतका लागि गौरवको विषय हुनेछ', भाइरसविद् डा.गङ्गादीप काङले भनिन् ।

यो खोपका फाइदा कस्ता छन् ?
वैज्ञानिकहरूका अनुसार डीएनए खोपहरू तुलनात्मक रूपमा सस्तो, सुरक्षित र स्थिर हुन्छन् । तिनलाई माइनस २ देखि ८ डिग्री सेल्सीअससम्मको तापक्रममा भण्डारण गर्न सकिन्छ । आफूले बनाएको कोभिड खोप तीन महिनामा २५ डिग्रीको तापक्रममा पनि नबिग्रिएको क्याडिला हेल्थकेअरको दाबी छ । यसबाट सो खोप सजिलै ओसारपसार र भण्डारण गर्न सकिने देखिन्छ ।

डीएनए खोपको कमजोरी के हो ?
मानिसमा लाग्ने सङ्क्रामक रोगविरुद्ध पहिला विकसित डीएनए खोप असफल भएका थिए । समस्या के हो भने ती खोपले पशुहरूमा राम्ररी काम गर्छन् । तर मानिसहरूमा तिनले त्यही मात्राको प्रतिरोधात्मक सुरक्षा दिँदैनन्', डा. काङ भन्छिन् । उनका अनुसार दीर्घकालीन प्रतिरोधात्मक प्रतिक्रिया सिर्जना गराउनेगरी प्लाज्मिड डीएनएलाई मानवकोषभित्र पुर्‍याउने काम चुनौतीपूर्ण छ । लुईजीयाना स्टेट यूनिभर्सिटीसँग आबद्ध भाइरसविद् डा। जेरमी कमिल पनि उस्तै धारणा राख्छन् । 
'प्लाज्मिड डीएनए खोपहरू पहिला पनि प्रयोग गर्न खोजिएको थियो । तर प्लाज्मिड डीएनएलाई मानवकोषको न्यूक्लीअसभित्र पुर्‍याउन, विशेषगरी वयस्कमा, निकै कठिन हुन्छ', उनले भने । फाइजर र मोडेर्नाका खोपहरूले एमआरएनए खोप हुन् । अर्थात् प्रोटीन उत्पादन गर्न लगाउने तिनले मेसिन्जर आरएनए प्रयोग गरेका छन् । तर त्यस्ता खोपहरू कोषको न्यूक्लीअस भनिने केन्द्रीय भागसम्म पुग्नुपर्दैन ।
जाईकोभ-डी खोपको अर्को दुर्बल पक्ष भनेको यसको तीन मात्रा चाहिन्छ । भारतमा प्रयोग गरिएका अरू दुईवटा खोपको दुई मात्रा भए पुग्छ । निर्माता कम्पनीले दुई मात्रा मात्र दिए पुग्ने खोपको मूल्याङ्कन भइरहेको जनाएको छ ।-बीबीसी

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार