सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच नेपाल प्रिमियर लिग (एनपिएल) मा आज प्रतिस्पर्धा हुँदा दुई टोलीको फरक उद्देश्य हुनेछ । कारण साविक विजेता लुम्बिनी प्ले अफ आफ्नो स्थान सुरक्षित गरिसकेको छ । आजको खेल उसका लागि पहिलो क्वालिफायर (शीर्ष २ स्थान) पक्का गर्नुहुनेछ। ९ अंक जोडिसकेको लुम्बिनीले आज खेल जितेमा शीर्ष २ स्थान पक्का गर्नेछ । तर विराटनगरको अवस्था फरक छ । प्ले अफको सम्भावना जीवित राख्नका लागि आजको खेल जित्नुको विकल्प छैन । विराटनगर आज जितेको अवस्थामा आइतबार मात्र प्ले अफको समीकरण पूरा हुनेछ । यदि विराटनगर पराजित हुन्छ भने काठमाडौं गोर्खाज र चितवन राइनोज प्ले अफ पुग्नेछन् । त्यस्तो अवस्थामा विराटनगर प्ले अफबाट बाहिरिनेछ । आजको खेलअघिसम्म लुम्बिनी र सुदूरपश्चिम रोयल्स प्ले अफमा पुगेका छन् भने पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्स प्ले अफ दौडबाट बाहिरिएको छ । लुम्बिनी त्यो टोली हो जसले एनपिएलमा पछिल्लो संस्करणदेखि ११ मा अपराजित रह्यो । त्यसमा १० टोली जित्दै एनपिएलमा कीर्तिमान बनाएको थियो । गत संस्करणमा सुरुवाती ३ खेलमा पराजित लुम्बिनीले त्यसपछि अपराजित यात्रालाई जारी राखेको थियो। यसपटक पाँचौं खेलमा आएर लुम्बिनीलाई काठमाडौंले ३६ रनले हराएको थियो। चितवनविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । सुदूरपश्चिमलाई ७ विकेटले हराउँदै लुम्बिनी उपाधि रक्षाको यात्रा सुरु गरेको थियो। तेस्रो खेलमा पोखरालाई ८ विकेट, चौथो खेलमा जनकपुरलाई १६ रन र छैटौं खेलमा कर्णालीलाई ४ विकेटले हराएको थियो । विराटनगरको यात्रा भने उतारचढावपूर्ण रहेको छ । विराटनगर पहिलो खेलमा चितवनसँग ८ रन र कर्णालीसँग ४ विकेटले पराजित भएको थियो । वर्षाका कारण ५ ओभरमा घटाइएको खेलमा सुदूरपश्चिमलाई ३५ रनले हराएको विराटनगरले चौथो अर्को खेलमा जनकपुरलाई २ रनले हराएको थियो। पाँचौं खेलमा काठमाडौंसँग ९ विकेटले पराजित भएपछि विराटनगरको प्ले सम्भावना कमजोर भएको थियो ।
लुम्बिनी २–१ विराटनगर एनपिएलमा लुम्बिनी र विराटनगरबीच यसअघि भएका ३ खेलमध्ये लुम्बिनीले २ खेल जितेको थियो । दुई टोलीबीच पहिलो संस्करणमा भएको भेटमा विराटनगरले २ विकेटको रोमाञ्चक जित निकालेको थियो । लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले १९।५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो। विराटनगरका लागि अन्तिम एक बल बाँकी रहँदा जित सम्भव भएको थियो । दोस्रो संस्करणमा भने लुम्बिनीले बदला लिएको थियो। विराटनगरले दिएको १ सय ४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो। विराटनगरले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । त्यसको आठ दिनपछि भएको दोस्रो क्वालिफायरमा पनि लुम्बिनीले विराटनगरलाई ४० रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । जवाफमा विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटिएको थियो ।