विशिष्ट अतिथिको आगमनलाई लक्षित गर्दै जनकपुरधामका छठ घाटमा विशेष सुरक्षा व्यवस्था

शनिबार, कात्तिक २८, २०८३

जनकपुर । छठ पर्वको तयारीका निम्ति जनकपुरधामका पोखरी तथा जलाशयहरुको तयारी पूरा भएको छ । घाट सफा गर्ने देखि टेन्ट, बत्ती जडान लगायतका कार्यहरु सम्पन्न भइसहेको छ । विशिष्ठ व्यत्तिहरुको आगमनलाई मध्येनजर गर्दै जनकपुरधामका घाटसहित नगरभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलले जनकपुरधामको गंगासागर पोखरीमा छठ मनाउने भएका कारण यस घाटको वरिपरि विशेष सुरक्षा नियमहरु अपनाइएको छ । गंगासागर छठ पूजा समितिले शनिबार पत्रकारसम्मेलन गर्दै सुरक्षा नियमहरुबारे जानकारी गराएको छ । समितिका अध्यक्ष सतिश कुमार लाल दासका अनुसार विशिष्ट अतिथिहरूको आगमनलाई मध्येनजर गर्दै गंगा सागर घाटको वरिपरि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा समितिका स्वयंसेवक परिचालन गरी विशेष सुरक्षा र भीड व्यवस्थापनमा कडाइ गरिएको छ । विगतका वर्षहरुमा एकदिन अगावै घाटमा पूजा सामग्री राखिने होड हुन्थ्यो । तर यस वर्ष भने छठ घाटमा पूजाका सामग्री व्यवस्थापन सहज बनाउन कार्तिक २९ गते बिहान ७ बजेदेखि मात्र डाला तथा सुपली घाटमा ल्याउन समितिले व्रतालुहरूलाई आग्रह गरेको छ । त्यस्तै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार छठ पर्व अवधिभर गंगासागर आसपासका क्षेत्रमा माछा, मासु तथा मदिराजन्य पसल बन्द गर्न निर्देशनसमेत दिइएको छ । समिति अध्यक्ष दासका अनुसार घाट परिसरमा डिजे बजाउन, मादक पदार्थ सेवन गरी होहल्ला गर्न तथा पटाका पड्काउनसमेत प्रतिबन्ध लगाइएको छ । त्यस्तै, छठ पर्वका मुख्य दिनमा गंगासागर पोखरीका चारैतर्फका डिल तथा पूजा परिसरभित्र सवारीसाधन प्रवेश र पार्किङ गर्न रोक लगाइनुका साथै पोखरीको चारैतर्फ ठेला, फुटपाथ पसल तथा अस्थायी व्यापार व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ । सवारी आवागमन व्यवस्थित गर्न कार्तिक २९ गते दिउँसो ४ बजेदेखि ३० गते बिहानको अर्घ्य सम्पन्न नहुँदासम्म विशेष ट्राफिक व्यवस्थापन समेत लागू गरिएको अध्यक्ष दासले जानकारी दिए । छठ पर्व मनाउन रास्वपा सभापति लामिछाने दम्पत्ति आजै जनकपुरधाम आउन लागेका छन् । उनको आगमनका कारण जनकपुर नगरभरि भारी मात्रामा प्रहरी प्रशासन तैनाथ गरिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार