सुदूरपश्चिम रोयल्स एनपिएलको प्ले अफमा

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को सिजन ३ को प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ । ् काठमाडौ गोर्खाजमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिमले प्लेअफमा स्थानमा सुरक्षित गरेको छ ।  लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँलाई हराउँदै  अंक तालिकामा १० अंक जोडेर सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिदै प्लेअफ पुगेको हो । लिग चरणको ७ मध्ये ५ खेलमा जित र २ खेलमा हार भोग्दै १० अंकमा तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो ।  सुदूरपश्चिमसँगको हारले काठमाडौले भने प्लेअफ पुग्न अर्को खेलसम्म पर्खनुपर्ने भएको छ । काठमाडौले लिग चरणको आफ्नो अन्तिम खेल पोखरा एभेन्जर्ससँग खेल्नेछ । काठमाडौले ४ खेलमा जित र २ खेलमा हार भोग्दै ८ अंकमा तालिकाको तेस्रो स्थानमा छ ।  सुदूरपश्चिमले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको काठमाडौले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १८ रन मात्र बनाउन सक्यो ।  काठमाडौंलाई जितका लागि अन्तिम ओभरमा १६ रनको आवश्यकता थियो । तर काठमाडौंले ८ रन मात्र जोड्न सक्यो । काठमाडौका लागि रासिद खानले सर्वाधिक नटआउट ३५ रनको बनाए । दुसान हेमान्थाले २१ रन बनाउँदा रनआउट भए। साम हेजलेट ११ रनमा नै रनआउट भए। सन्तोष यादवले १०, आदिल आलम ८ रन थप्दै आउट भए । 
सुदूरपश्चिमका लागि अनिल खरेलले २ तथा हेमन्त धामी, स्कट कुगेलाइन र फाबियन एलेनले समान एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २५ रनको योगफल तयार पारेको थियो ।  २.३ ओभरमा नै ८ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा आएको सुदूरपश्चिमका लागि आरिफ शेख र दिपेन्द्र सिंह ऐरिले पाचौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। आरिफ १६ न बनाउँदा रन आउट भए ।  छैटौ विकेटका लागि कप्तान दीपेन्द्र र थरिन्दु रत्नायकेले ५४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले सम्मानजनक योगफल तयार पारेको थियो । ५५ बलमा ५ चौका र २ छक्का सहयोगमा ६० रन बनाएका दीपेन्द्र जहानदाद खानको बलमा भीम सार्कीबाट क्याच आउट भए । 
संकटकाबीच पनि कप्तान दीपेन्द्रले अर्धशतक पूरा गरे। दीपेन्द्रले ४६ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक प्रहार गरे । 
थरिन्दु रत्नायके २६ र फबियन एलेन २ रनमा अविजित रहे । ओपनर स्कट कुग्लेजिन ६, विनोद भण्डारी १ रनमा आउट भए। ब्राण्डोन म्याक मुलेन र इशान पाण्डे अंकको खाता खोल्न सकेनन् । काठमाडौका लागि जहानदाद खानले ३ र  सन्तोष यादवले २ विकेट लिए । 
आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्नेछन् । सो खेल साँझ ५ बजे सुरु हुनेछ ।  लिग चरणको २ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन ५ अंकमा तालिकाको पाचौँ स्थानमा छ । चितवनले लिग चरणमा आजसहित २ खेल खेल्न बाँकी छ । चितवन आजको खेलमा जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाउन चाहान्छ ।  २ खेलमा जित र ४ खेलमा हार भोगेको जनकपुर ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ। जनकपुरले आजको खेलमा हार भोगे प्लेअफ दौडबाट बाहिरिने छ । जित हात पारे अन्य खेलको नतिजा कुर्नुपर्नेछ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार