फोनिजले जारी गर्यो १३ बुँदे ‘सप्तरी घोषणा पत्र’, सरकारी कदमको विरोध

सोमबार, कात्तिक १६, २०८३

सप्तरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले संचारगृह र पत्रकारहरुमाथि राज्यपक्षबाट भइरहेको धरपकड र पक्राउप्रति आपत्ति जनाएको छ ।  सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरमा २०८३ कात्तिक १४ र १५ गते सम्पन्न फोनिजको पाँचौँ पूर्ण बैठकले १३ बुँदे ‘सप्तरी घोषणा पत्र’जारी गर्दै सरकारी कदमको कडा रुपमा निन्दा गरेको हो । त्यस्तै सरकारले पत्रपत्रिका लगायत सञ्चार माध्यमलाई प्रदान गर्दैआएको लोककल्याणकारी बिज्ञापन प्रकाशन गरेबाफतको सरकारी अनुदानमा कटौती गरेकोमा पनि आपत्ति जनाउँदै अनुदान पूर्वबत रुपमा सञ्चार माध्यमलाई प्रदान गर्न माग गरेको छ । बैठकले फोनिज संघीय समितिको पहलमा दिगंवत अग्रज पत्रकार टेकराज थामीको परिवारलाई आवश्यक सहयोग प्रदान गर्ने र उनले पत्रकारिताको माध्यमबाट आदिबासी जनजाति समुदाय र देशलाई पुर्याएको योगदानको स्मरण र सम्मानको लागि स्व.टेकराज थामी फोनिज राष्ट्रिय स्मृति पत्रकारिता पुरस्कार अक्षकोष स्थापना गरी हरेक वर्ष उत्कृष्ट एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पनि फोनिज कोषाध्यक्ष अर्जुन बहादुर तामाङले जानकारी दिए ।  बैठकले १३ बुँदे घोषणा पत्र जारी गर्दै मातृभाषामा प्रकाशित तथा प्रसारित सञ्चार माध्यमको अवस्था दयनीय रहेकाले सञ्चार माध्यम तथा त्यसमा कार्यरत मातृभाषी पत्रकारको क्षमता वृद्धि, सञ्चार माध्यमको आर्थिक प्रवर्धन गर्न आर्थिक सहुलितका लागि सरकारसँग माग समेत गरेको छ । कोषाध्यक्ष तामाङका अनुसार बैठकले श्रमजीवी पत्रकारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक सञ्चार संस्थाहरुमा लागू गराउन र श्रमजीवी पत्रकारले सञ्चालन गरेको स्वरोजगारमूलक मिडियाको संरक्षण, प्रवर्धन र विकासमा सहयोग गर्न तीनै तहका सरकारसमक्ष माग गरेको छ । 

घोषणा पत्र

फोनिजको पाँचौ पूर्ण बैठक सप्तरीको सप्तकोसी नगरपालिका वडा नं। १, फत्तेपुरमा सम्पन्न भएको छ । बैठकले निम्न उल्लेखित घोषणापत्र जारी गरेको छ ।

१. मिति २०८३ कात्तिक १३ गते बालेन्द्र शाह नेतृत्वको सरकारले पत्रकार विश्वमणि सुवेदी (नेपाल प्रेस), शोभराज बराल (मोटिभेट न्युज), धिरज बस्नेत (डीएनए खबर) लाई पक्राउ गरी छाडेको, नवराज मैनाली (नयाँ पत्रिका), सुदीप विश्वकर्मा (दियोपोस्ट), रिता बुढाथोकी लगायत पत्रकारलाई समाचार लेखेकै कारण खोजी गरेर प्रेस जगतलाई आतङ्कित गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाको भ्रत्सना गर्दै संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने कार्य बन्द गर्न र पत्रकारलाई स्वतन्त्र रुपमा समाचार लेख्ने वातावरण निर्माण गर्न सरकारसँग बैठक आग्रह गर्दछ ।

२. प्रदेश १ सरकारको प्रस्तावमा प्रदेशसभाले २०८३ असोज २४ गते मैथिली, लिम्बू, थारू, तामाङ, मगर, वान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न विधेयक पारित गरेको र विधेयक प्रदेश प्रमुख परशुराम खापुङले प्रमाणीकरण गर्नुभएकोमा प्रदेश सरकार, राजनीतिक दल, प्रदेश सभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यान्वयनका लागि हार्दिक आग्रह गर्दछ । 

३.बालेन्द्र साह नेतृत्वको सरकार गठनसँगै पत्रपत्रिका लगायत सञ्चार माध्यमलाई प्रदान गर्दैआएको लोककल्याणकारी बिज्ञापन प्रकाशन गरेबाफतको सरकारी अनुदानमा कटौती गरेकोमा आपत्ति जनाउँदै अनुदान पूर्वबत रुपमा सञ्चार माध्यमलाई प्रदान गर्न माग गर्दछ । 

४. २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हालसम्म बेपत्ता रहनुभएका पत्रकार टेकराज थामी ९परिवारबाट २४ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको० सहित बेपत्ता पत्रकार तथा ज्यान गुमाउनुभएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता हुनुभएका सम्पूर्ण परिवारजनमा परेको पीडाप्रति फोनिज समवेदना प्रकट गर्दछ । बाढी पीडित परिवारलाई आवश्यक राहत वितरणको साथै विस्थापितहरुको स्थायी बसोबासको व्यवस्थका लागि सरकारसँग बैठक आग्रह गर्दछ । 

५. फोनिज संघीय समितिको पहलमा दिगंवत अग्रज पत्रकार टेकराज थामीको परिवारलाई आवश्यक सहयोग प्रदान गर्ने र उहाँले पत्रकारिताको माध्यमबाट आदिबासी जनजाति समुदाय र देशलाई गर्नुभएको योगदानको स्मरण र सम्मानको लागि स्व.टेकराज थामी फोनिज राष्ट्रिय स्मृति पत्रकारिता पुरस्कार अक्षकोष स्थापना गरी हरेक वर्ष उत्कृष्ट एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने यो बैठक निर्णय गर्दछ ।  

६. प्रदेश नं.१ लगायतमा चलिरहेको पहिचानको आन्दोलनलाई प्रदेश सरकार, सभा र राजनीतिक दलहरुले समयमै ध्यान दिएर कोशी नाम खारेजी गरी पहिचानको आधारमा पुनः नामकरण गर्न बैठक आग्रह गर्दछ । 

७।. मातृभाषामा प्रकाशित तथा प्रसारित सञ्चार माध्यमको अवस्था दयनीय रहेकाले सञ्चार माध्यम तथा त्यसमा कार्यरत मातृभाषी पत्रकारको क्षमता वृद्धि, सञ्चार माध्यमको आर्थिक प्रवर्धन गर्न आर्थिक सहुलितका लागि सरकारसँग बैठक माग गर्दछ ।

८. नेपाल पत्रकार महासङ्गको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहनु भएको तथ्य स्पष्टै छ । नेपाल पत्रकार महासङ्घको २७ औं महाधिवेशनले कार्यदल गठन गरी अध्ययन गराइ निष्कर्षमा पुग्ने भनिए पनि अहिलेसम्म प्रगति भएको नदेखिएकाले समस्या समाधानमा महासंघलाई गम्भीर बन्न बैठक पुनः आग्रह गर्दछ । साथै महासंघको संस्थापक अध्यक्षको विषयलाई लिएर फोनिजले कार्यतालिका बनाएर आन्दोलन पुनः निरन्तर अघि बढाउने निर्णय गर्दछ ।

९. श्रमजीवी पत्रकारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक सञ्चार संस्थाहरुमा लागू गराउन र श्रमजीवी पत्रकारले सञ्चालन गरेको स्वरोजगारमूलक मिडियाको संरक्षण, प्रवर्धन र विकासमा सहयोग गर्न तीनै तहका सरकारसमक्ष यो बैठक आग्रह गर्दछ ।

१०. प्रदेश नं। १ मा जारी मुकुमलुङमा नो केवलकार समस्या वार्ता र संवादका माध्यमवाट समाधान गर्न सरकार र सम्बद्ध पक्षसँग यो बैठक आग्रह गर्दछ ।

११।. नेपालको संविधान २०७२ ले आदिवासी जनजातिको हकहितका लागि सुनिश्चित गरेको व्यवस्था संघीयता, पूर्ण समावेशीता, पूर्ण समानुपातिक व्यवस्था, धर्म निरपेक्षता, स्वायत्तता, विशेष क्षेत्र, संरक्षित क्षेत्रको कार्यान्वयनका लागि कानुन बनाइ तत्काल कार्यान्वयन गर्न यो बैठक आग्रह गर्दछ ।

१२।. फोनिज संघीय समितिका उपाध्यक्ष अर्जुन जम्नेली राई किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन विराटनगरबाट केन्द्रीय समितिको सहअध्यक्षमा, तमू (गुरुङ) सञ्चारकर्मी संघको छैटौं राष्ट्रिय महाधिवेशन पोखराबाट चित्र सोल्टी गुरुङ अध्यक्षमा, किरात राई पत्रकार संघको भोजपुरमा भएको छैटौ राष्ट्रिय महाधिवेशनबाट अवतार राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको यो बैठक शुभकामना व्यक्त गर्दछ । 

१३. मधेस प्रदेशको सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका –१, फत्तेपुरमा फोनिजको पाँचौ केन्द्रीय पूर्ण बैठक सम्पन्न भएको छ । बैठक सफल बनाउन सहयोग गर्नुहुने सप्तकोसी नगरपालिका, मधेस प्रदेश सभा सदस्य माननीय राजकुमार लेखी, वडा नं। ५ को कार्यालय तथा अध्यक्ष गोसाई चौधरी लगायत सबैमा बैठक धन्यवाद ज्ञापन गर्दछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार