Tihar Banner
Tihar Banner

आजको मौसम : चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुधबार, कात्तिक २५, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका केही हिमाली क्षेत्रमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना देखिएको छ । महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ। त्यस्तै, अन्य हिमाली भूभाग, पहाडी क्षेत्र तथा मधेस प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाको पूर्वानुमानअनुसार देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार