Tihar Banner
Tihar Banner

२० भन्दा बढी ऐतिहासिक टक्सार बजारका धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणको पर्खाइमा

बुधबार, कात्तिक २५, २०८३

भोजपुर । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८७२ मा स्थापना भएको नेपालको एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजारका धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणको पर्खाइमा छन् । टक्सार बजार र आसपासमा २० वटाभन्दा बढी धार्मिक तथा सांस्कृतिक महत्वका स्थल छन् । यहाँ ऐतिहासिक शाक्यमुनि बौद्ध विहार, राम मन्दिर, मच्छिन्द्रनाथ मन्दिर, शिव मन्दिर, हनुमान मन्दिर, गणेश मन्दिरलगायत दर्जनौँ मठमन्दिर तथा विहार छन् । संरक्षण र रेखदेखको अभावमा यहाँका मठमन्दिरमा पूजाआजा गर्ने तीर्थालु भक्तजनको समेत कमी आउँदै गएको स्थानीय घमचन्द्र दाहालले बताए । पाटनमा रहेका मठमन्दिरसरह महत्व बोकेका यहाँका सम्पदाको जीर्णोद्धार आवश्यक रहेको अर्का स्थानीय सानुकाजी शाक्यको भनाइ छ। पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिर स्थानीयको बसाइँसराइ र संरक्षणको अभावका कारण जीर्ण बन्दै गएका छन् । सरोकारवाला निकायले ध्यान नदिनु र स्थानीयमा समेत बसाइँसराइको लहर बढ्दै जानुले टक्सारका सम्पदा थप ओझेलमा परेको शाक्य बताउँछन् । टक्सारलाई ‘दोस्रो मिनी पाटन’का रूपमा पनि चिनिन्छ । टक्सारमा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट पनि सहयोग हुनुपर्ने स्थानीयवासीको माग छ। इतिहास बोकेको टक्सारलाई पुनः पहिलेकै अवस्थामा फर्काउन गुरुयोजना निर्माण गरिनुपर्ने स्थानीय किशोर ताम्राकारको धारणा छ। उनले टक्सारको प्रचारप्रसारका लागि यहाँ भोजपुर सङ्ग्रहालयसमेत स्थापना गरिएको बताए । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वसँग जोडिएका यहाँका मठमन्दिरको दुर्दशाप्रति सम्बन्धित स्थानीय सरोकारवाला निकायको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ । टक्सारका ऐतिहासिक सम्पदाको संरक्षणका लागि स्थानीयवासी मात्र नभई स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले समेत ध्यान दिनु जरुरी रहेको यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकुमार राईको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार