Tihar Banner
Tihar Banner

नेपाल हाउस विवाद समाधानको लागि आईसीसी र एनसीसीका नेतृत्वबीच संवाद

तिहारपछि निर्णायक बैठकको तयारी
बुधबार, कात्तिक २५, २०८३

जापान । जापानमा नेपाल हाउस निर्माणका लागि अघि बढाइएको जग्गा खरिद प्रक्रियालाई लिएर देखिएको विवाद र असमझदारी समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)  का अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहका नेतृत्वबीच संवाद अघि बढेको छ । विवादलाई थप लम्ब्याउनुभन्दा आपसी समझदारी र सहकार्यका माध्यमबाट निकास खोज्ने प्रयास भइरहेको छ । एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपकप्रसाद कँडेलको पहलमा नेपाल हाउससम्बन्धी विषयमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानका पदाधिकारी तथा पूर्वनेतृत्वबीच छलफल भइरहेको हो । कँडेलसँगको प्रत्यक्ष कुराकानीअनुसार संवादमा आईसीसीका तर्फबाट वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, उपाध्यक्ष ददिवल खड्का तथा आईसीसीका युवा संयोजक नवीन निउरे सहभागी छन् । त्यसैगरी, एनआरएनए जापानका तर्फबाट वर्तमान अध्यक्ष सुभाष लामिछाने तथा पूर्वअध्यक्षहरू ओम गुरुङ, देबीलाल भण्डारी र शिवप्रसाद पौडेललगायत सम्बन्धित व्यक्तिहरू संवादमा संलग्न छन् । कँडेलका अनुसार सबै पक्षका धारणा, सुझाव र चासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै आपसी समझदारी र साझा सहमतिमा पुग्ने प्रयास भइरहेको छ । तिहारपछि सम्बन्धित पक्षहरूबीच संयुक्त बैठक आयोजना गरी छलफलको निष्कर्ष, आगामी कार्यदिशा र नेपाल हाउससम्बन्धी आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिएका छन् । नेपाल हाउस निर्माणका क्रममा जग्गा खरिद प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि कँडेलको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति गठन गरिएको थियो । समितिले अक्टोबर ४ देखि २९ सम्म अध्ययन तथा अनुगमन गरी अक्टोबर ३० मा प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनमा जग्गाको स्वामित्व, क्षेत्रफल, कानुनी अवस्था तथा आर्थिक कारोबारबारे विभिन्न प्रश्न उठाउँदै प्रारम्भिक सम्झौता रद्द गरी भुक्तानी भएको रकम फिर्ता ल्याउन सिफारिस गरिएको थियो । अनुगमन समितिको प्रतिवेदन सार्वजनिक भएपछि संस्थाभित्र थप बहस र असमझदारी देखिएको थियो । अहिले भने सम्बन्धित पक्षहरूबीच संवादमार्फत विवाद समाधान गर्दै नेपाल हाउस निर्माणको साझा उद्देश्यलाई अघि बढाउने प्रयास भइरहेको छ । कँडेलले नेपाल हाउस कुनै व्यक्ति वा समूहको मात्र नभई जापानवासी नेपाली समुदायको साझा सरोकार र संस्थागत सम्पत्तिसँग जोडिएको विषय भएकाले सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । यसको निर्माण तथा व्यवस्थापनमा पारदर्शिता, आपसी विश्वास, सहकार्य र सामूहिक हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । लामो समयदेखि विवाद र मतभेदका कारण प्रभावित हुँदै आएको नेपाल हाउसको विषयमा आईसीसी र एनसीसीका वर्तमान तथा पूर्वनेतृत्वबीच भइरहेको संवादलाई सकारात्मक पहलका रूपमा हेरिएको छ । तिहारपछि हुने संयुक्त बैठकबाट साझा सहमति निर्माण भई विवाद समाधानको दिशामा निर्णायक निष्कर्ष निस्कने अपेक्षा गरिएको छ । सबै पक्षबीच आपसी विश्वास र सहकार्यको वातावरण निर्माण हुन सके नेपाल हाउस निर्माणको साझा अभियानलाई पुनः एकताबद्ध रूपमा अघि बढाउन सकिने विश्वास गरिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार