Tihar Banner
Tihar Banner

एनपीएल : चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

मंगलबार, कात्तिक २४, २०८३

काठमाडौं । सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा लगातार तेस्रो जित निकालेको छ ।  हारपछि जनकपुरको प्लेअफ यात्रा कठिन बनेको छ ।  मंगलबार भएको एक मात्र खेलमा सुदूरपश्चिमले जनकपुर २७  रनले पराजित गर्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलमा हार र २ खेलमा जित निकालेको पहिलो संस्करणको च्याम्पियन जनकपुर ४ अंकमा तालिकाको पाचौँ स्थानमा छ ।  ४ खेलमा जित र २ खेलमा हार भोगेको सुदूरपश्चिम ८ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लेको छ। समान ८ अंक भएको काठमाडौ गोर्खाज तालिकाको शीर्ष स्थानमा छ ।  सुदूरपश्चिमले दिएको १ सय २१ रनको मध्यम लक्ष्य पछ्याएको जनकपुर १९।५ ओभरमा ९३ रनमा अलआउट भयो ।  एनपिएलको पहिलो सिजनको लिग चरणमा १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा अलआउट भएको थियो ।  आज मध्यम लक्ष्य पछ्याएको जनकपुरका ब्याटरअघि सुदूरपश्चिमका बलरहरु हाबी भए । सुदूरपश्चिमका बलरसँगै दर्शकको साथले पनि जनकपुर थप दबाबमा रह्यो ।  जनकपुरका लागि तृतराज दासले बनाएको २१ रन नै सर्वाधिक रह्यो। जिम्मी निसमले २० रन थपे।  आदित्य महताले १० र रायल बर्लले ८ रन थपे ।  सुदूरपश्चिमसँग दबाबमा परेको जनकपुर ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  जनकपुरलाई कम स्कोरमा रोक्न स्कट कुग्लेजिनले ३ विकेट लिए। हेमन्त धामी, इशान पाण्डे, थरिन्दु रत्नायके र दिपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए। जनकपुर २ खेलाडी रन आउट भए ।  त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रनको बनाएको थियो ।  ब्राण्डोन म्याकमुलेनले बनाएको ३३ रन नै सुदूरपश्चिमका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे ।  थारिन्दु रत्नायकेले १६, आरिफ शेखले ११ र विनोद भण्डारीले १० रन थपे।  सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न कप्तान हरमित सिंहले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १० रन दिएर ४ विकेट लिए ।  ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट लिए ।  एनपिएलमा बुधबार विश्राम रहेको छ। बिहिबार २ खेल हुनेछ। दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुनेछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार