Tihar Banner
Tihar Banner

चितवनलाई हराउँदै काठमाडौं एनपिएलको शीर्ष स्थानमा

सोमबार, कात्तिक २३, २०८३

काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै काठमाडौ गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को शीर्ष स्थानमा उक्लेको छ।  सोमबारको दोस्रो खेलमा चितवनलाई १० रनले हराउँदै काठमाडौं ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लेको हो । शीर्ष स्थानमा उक्लेपछि काठमाडौँको प्लेअफ सम्भावना थप मजबुत बनेको छ ।  पहिलो खेलमा पराजित भएको काठमाडौले लगातार चौथो खेलमा जित निकाल्दै अग्र स्थानमा पुगेको हो ।
काठमाडौ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको काठमाडौले तेस्रो खेलमा विराटनगर किंग्सलाई ९ विकेटले हराएको थियो । चौथो खेलमा लुम्बिनी लायन्सलाई ३६ रनले पाखा लगाएको थियो ।  काठमाडौसँग पराजित भएपछि चितवनले दोस्रो स्थानमा उक्लने मौका गुमायो । समान २ खेलमा जित र हारको नतिजा निकालेको चितवनले लुम्बिनी लायन्ससँग भने वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो ।  चितवनले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराएको थियो । सुदूरपश्चिमसँग भने ५ विकेटले पराजित हुँदा पोखरालाई ३० रनले हराएको थियो ।  आज काठमाडौले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रन मात्र बनाउन सक्यो । चितवनलाई जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक हुँदा ७ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरको दोस्रो बलमा रवि बोपारा ५५ रनमा करण केसीको बलमा भिम सार्कीबाट क्याच आउट भएपछि खेल काठमाडौको पक्षमा पुग्यो ।  चितवनका लागि बोपाराले अर्धशतक पूरा गरेपनि टोलीको हार टार्न सकेनन् । उनले ३४ बलमा २ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए ।  टोलीका डान मुस्लेले २९, ओपनर कमिल मिसाराले २८, अर्जुन साउदले २४ रन बनाउँदै पेभेलियन फर्के। कुशल मल्लले १३ रन थपे। 
काठमाडौका लागि सहानले २ विकेट लिदा जहानदाद खान, करण , सन्तोष यादव र गणेश गौतमले समान एक विकेट लिए ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो ।  ३.२ ओभरमा नै २ विकेट गुमाएर दबाबमा आएको काठमाडौका लागि तेस्रो विकेटका लागि विलियम बसिस्टो र रासिद खानले ६२ रनको साझेदारी गरे ।  बसिस्टोले २२ बलमा १ छक्का सहयोगमा २७ रन बनाउँदै पेभेलियन फर्के।  चौथो विकेटका लागि रासिद र सहानले ५३ रनको साझेदारी गरेपछि काठमाडौ विशाल लक्ष्यतर्फ अघि बढेको थियो ।  रासिदले सर्वाधिक ५२ रन बनाए । उनले ३० बलमा २ चौका र ४ छक्का प्रहार गरे ।  सहानले २० बलमा ३ चौका र २ छक्का सहयोगमा ३३ रन बनाउँदै क्याच आउट भए। कप्तान करण ७ बलमा ३ छक्का सहयोगमा २० रन बनाउँदा एलबिडब्लु धरापमा परे । साहिल पटेलले ८ तथा आदिल आलम ९ रनमा आउट भए। ६ बलको सामना गरेका डेविड वार्नर १ रनमा बोल्ड आउट भए ।  चितवनका लागि रिजन ढकालले ३ तथा सिकन्दर राजा र कमल ऐरिले समान २ विकेट लिए। डान मुस्लीले एक विकेट आफ्नो नाममा गरे । आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराएको थियो। पोखराले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कर्णाली १८।३ ओभरमा १ सय ५४ रनमा अलआउट भयो ।  टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १७ रनको बनाएको  थियो ।  एनपिएलमा मगंलबार एक खेल मात्र हुनेछ। पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुबै संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल साँझ ५ बजे सुरु हुनेछ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार