सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एसियन चेस फेडेरेसनको निमन्त्रणामा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा आयोजना हुने एसियन नेशन कप बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । युवा खेलाडीहरूको बाहुल्यता रहेको नेपाली टोलीमा नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, सिएम पुरुषोत्तम सिलवाल, रिसोन थापा, निकेन कुसाथा र मुहान नर्सिङ श्रेष्ठ रहेका छन् । टोलीको पहिलो बोर्डमा २१५१ रेटिङ प्राप्त अनुभवी खेलाडी रुपेश जैसवालले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, दोस्रो बोर्डमा २०९३ रेटिङका पुरुषोत्तम सिलवाल, तेस्रो बोर्डमा २०७५ रेटिङका रिसोन थापा, चौथो बोर्डमा २००७ रेटिङका निकेन कुसाथा तथा पाँचौँ बोर्डमा १९८३ रेटिङका मुहान नर्सिङ श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् । यसअघि सम्पन्न ४६ औं चेस ओलम्पियाडमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गरेको थियो । पदकको नजिक पुगे पनि अन्तिम चरणमा चुकेको नेपाली टोलीका ६ जना खेलाडीले व्यक्तिगत रूपमा क्यान्डिडेट मास्टर (सिएम) उपाधि प्राप्त गरेका थिए । साथै, नेपाल विश्व च्याम्पियनसिपका लागि छनोट हुन समेत सफल भएको थियो । ओलम्पियाडको अनुभवबाट उत्साहित नेपाली टोलीले यस पटकको नेशन कपमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । प्रतियोगितामा व्यक्तिगत उपाधि हासिल गर्नुका साथै एसियाली स्तरमा नेपालको बुद्धिचालको रेटिङ तथा वरीयता सुधार गर्ने टोलीको मुख्य उद्देश्य रहेको छ । स्विस लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा ९ चरणका खेल हुनेछन् । नेपालसहित रुस, चीन, न्युजिल्यान्ड, पाकिस्तान, काजकिस्ताज, आयोजक युएई, उज्बेकिस्तान, श्रीलंका, मलेसिया लगायत २१ देशका टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा सहभागी हुन प्रस्थान गरेको नेपाली टोलीलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै सफलताको शुभकामना दिएको संघका सचिव राजु ताम्राकारले जानकारी दिएका छन् ।