सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनल खेलेका दुई टोली जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच तेस्रो सिजनमा आज प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ । जनकपुर त्यहि टोली हो जसले पहिलो संस्करणको उपाधि जितेको थियो । सुदूरपश्चिमलाई नै हराएर जनकपुर च्याम्पियन बनेको थियो। दोस्रो संस्करणमा सुदूरपश्चिम फेरि फाइनलमा पुगेको थियो। तर जनकपुरले त्यो सिजन अन्तिममा रहेर टुंगाएको थियो । यसपटक छैटौं चरणको पहिलो खेलमा जनकपुर र सुदूरपश्चिमले एकअर्काको सामना गर्दैछ। यसपटक दुबै टोलीले ५ खेल खेलिसकेका छन् । प्ले अफ दौडमा रहेका दुई टोली मध्ये सुदूरपश्चिम ६ अंकसहित तेस्रो र ४ अंकका साथ जनकपुर पाँचौं स्थानमा छ । आजको खेल जित्दै दुबै टोली प्ले अफको नजिक पुग्न चाहन्छ । आजको खेल जितेमा सुदूरपश्चिम लगातार तेस्रो पटक प्ले अफको नजिक पुग्नेछ । अर्कोतर्फ दोस्रो पटक उपाधि जित्ने सम्भावनालाई जीवित राख्न आजको खेल जित्नुपर्नेछ । लिग चरणमा एउटा टोलीले ७ खेल खेल्नेछ । तेस्रो सिजनसम्म आइपुग्दा जनकपुर र सुदूरपश्चिम पाँचौं पटक एकअर्काको सामना गर्दैछन् । पहिलो संस्करणको फाइनलमाबाहेक बाँकी ३ खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।
सुदूरपश्चिम ३–१ जनकपुर (जनकपुरमाथि सुदूरपश्चिमको दबदबा, फाइनलमा भने जनकपुर विजयी) एनपिएलमा जनकपुर र सुदूरपश्चिमबीच भएका ४ भेटमध्ये सुदूरपश्चिमले ३ खेल जितेको छ। पहिलो संस्करणमा मात्रै यी दुई टोलीबीच ३ पटक प्रतिस्पर्धा भएको थियो । पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर ५१ रनमै समेटिएको थियो। एउटा इनिङमा बनेको त्यो अहिलेसम्मको कम स्कोर हो । पहिलो संस्करणकै पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराएको थियो । जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८।३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । तर, पहिलो संस्करणको फाइनलमा भने जनकपुरले बदला लियो। सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै ५ विकेटको जितसहित उपाधि जितेको थियो । दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले पराजित गर्यो। जनकपुरले दिएको १ सय ४६ रनको लक्ष्य सुदूरपश्चिमले १७।४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।