दीपेन्द्रको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सको जित

बुधबार, कात्तिक ११, २०८३

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरि र इसान पाण्डेको उत्कृष्ट साझेदारीमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै सृुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ ।  बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले हराउँदै जित हात पारेको हो ।  सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । एनपीएलमा पोखराले अहिलेसम्म सुदूरपश्चिमलाई हराउन सकेको छैन । पोखराले दिएको १ सय ४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।  चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इसानले ७४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले जितको आधार तयार पारेको थियो । इसानले ३१ बलमा २ चौका र २ छक्का सहयोगमा ३७ रन बनाउँदा मेहदी हसनको बलमा एलबीडब्लु धरापमा परे ।  कप्तान दीपेन्द्र ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा ५१ रनमा अविजित रहे । जारी एनपीएलमा अर्धशतक पूरा गर्ने दीपेन्द्र दोस्रो खेलाडी हुन् ।   यसअघि चितवनका डविड मलानले विराटनगरविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।  ओपनर विनोद भण्डारी पहिलो ओभरमा नै ४ रन बनाउँदा धनन्जय लक्षणको बलमा बोल्ड आउट भए । अर्का ओपनर ब्रान्डोन म्याकमुलेनले १२ बलमा २ चौका र १ छक्का सहयोगमा २२ रन बनाउँदा सकिब अल हसनको बलमा एलबीडब्लु धरापमा परे ।  पोखराका लागि धनन्जय, मेहदी र सकिबले समान एक विकेट लिए ।  त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो ।  पोखराका लागि ओपनर मेहदी हसनले २१ बलमा ४ चौका र १ छक्का सहयोगमा ३२ रन बनाउँदा  अनिल खरेलको बलमा दीपेन्द्रसिंह ऐरिको हातबाट क्याच आउट भए ।  अर्का ओपनर दीनेश खरेल ४ रनमा हेमन्त धामीको बलमा विकेट किपर विनोद भण्डारीको हातबाट आउट भए ।   कप्तान कुशल भुर्तेल २१ रनमा दीपेन्द्रको बलमा अनिलको हातबाट क्याच आउट हुदै पेभेलियन फर्के ।  सकिब अल हसन १४ रन बनाउँदा अनिल कै बलमा स्कट कुग्लेजिनको हातबाट क्याच आउट नै हुन पुगे । सदीराले ८ रन थपे । धनन्जय लक्षण ११ रनमा रनआउट भए। किरण ठगुन्नाले १ रन बनाए ।  अर्जुन घर्ति ४० र विपिन खत्री ५ रनमा अविजित रहे। अर्जुनले २५ बलमा ४ चौका र १ छक्का हाने । सुदूरपश्चिमका लागि अनिलले ३ विकेट लिए। अनिलले ३ ओभरमा २३ रन दिए । स्कट कुग्लेजिन, हेमन्त धामी, अविनास बोहोरा र दीपेन्द्रको नाममा समान एक विकेट रह्यो ।  एनपीएलमा बिहिबार २ खेल हुनेछन् । दिनको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौ गोर्खाज खेल्नेछन्। सो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।  जनकपुर पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित भएको थियो। काठमाडौले भने पहिलो खेल खेल्न लागेको हो ।  दिनको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स खेल्ने तालिका छ । यो खेल अपरान्ह ५ बजे सुरु हुनेछ। विराटनगर आफ्नो पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको थियो । 

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार