Dashain Banner
Dashain Banner
कलाकारको दशैँ

दशैँको रौनकमा विपत्तिको छायाँ, कलाकारको मनमा संवेदना

कतै विपत्तिको पीडा, कसैलाई बाल्यकालको याद
बुधबार, कात्तिक ४, २०८३

काठमाडौं । कुनैबेला दशैं आउनुअघि नै नयाँ लुगाको प्रतीक्षा, मीठोमसिनो खाने रहर र दक्षिणा गन्ने उत्सुकताले मनमा उमङ्ग भरिन्थ्यो । घरभरि आफन्तको जमघट हुन्थ्यो, टीका–जमरासँगै आशीर्वाद र आत्मीयता साटिन्थ्यो । तर अहिले समय फेरिएको छ, दशैं मनाउने शैली पनि फेरिएको छ । यस वर्ष विपत्ति र मानवीय क्षतिको पीडाले चाडको रौनकलाई समेत प्रभावित पारेको छ । यही बदलिँदो समय र परिस्थितिबीच कलाकारहरू कसैले उत्सवबाट आफूलाई टाढा राखेका छन् त कसैले सादगीमा दशैँको वास्तविक मर्म खोजिरहेका छन् । कलाकारहरूका लागि पनि अहिलेको दशैँ केवल रमाइलो र उत्सवको अवसर मात्र नभइ, जीवनका पुराना सम्झना साट्ने, सम्बन्धलाई गहिरो बनाउने र समाजको दुःखमा संवेदनशील बन्ने समय बनेको छ । कलाकारहरू बसुन्धरा भुसाल, भुवन चन्द, हरिहर शर्मा र मोहन आचार्यका अनुभव र विचारमा दशैँका फरक–फरक रङ देखिन्छन् । कसैले यस वर्षको दशैँमा भड्किलो उत्सव नगर्ने निर्णय गरेका छन् भने कसैले परम्पराको मर्म जोगाउँदै सरल र आत्मीय ढङ्गले चाड मनाउनुपर्नेमा जोड दिएका छन् ।

पीडाको घडीमा उत्सवभन्दा संवेदना ठूलो : बसुन्धरा भुसाल

कलाकार बसुन्धरा भुसालका लागि यस वर्षको दशैँ विगतका वर्षहरूजस्तो उत्साहपूर्ण छैन । भोटेकोशी बाढीले निम्त्याएको जनधनको क्षति, आफन्त गुमाएका परिवारको पीडा र घरबारविहीन हुनुपरेका प्रभावितहरूको अवस्थाले उनलाई चाडपर्व भड्किलो ढङ्गले मनाउन उचित लागिरहेको छैन । ‘विगतका दशैँमा अलि बढी उत्साह हुन्थ्यो, यसपालि देशमा विपत्ति आएको छ । धेरैका परिवार आफ्न्तजन परिवार बित्नुभएको छ, घर सबै मासिएको छ,’ उनी भन्छिन्, ‘त्यसकारण मैंले तीज पनि भड्किलो गरिनँ । दशैँमा पनि कुनै रमाइलो वा भड्किलो उत्सव गर्ने मन लागेको छैन ।’ उनका लागि दशैँको महत्त्व अग्रजको हातबाट टीका लगाउनु, आशीर्वाद लिनु र आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिनुमा छ । तर अहिलेको परिस्थितिमा नाचगान, नयाँ लुगा र तडकभडकलाई प्राथमिकता दिनु उपयुक्त नहुने उनको धारणा छ । भुसाललाई बाल्यकालको दशैँ भने निकै रमाइलो लाग्थ्यो । त्यतिबेला नयाँ लुगा लगाउन, मीठो खान र दक्षिणा पाउन दशैँ कुर्नुपर्थ्यो । दक्षिणामा पाइने स–साना पैसा गन्ने र चार–चार पैसाका सिक्का मालामा उन्ने सम्झना पनि उनीसँग ताजै छ । ‘पहिला मासु खान पनि दशैँ कुर्थे मान्छेहरू । अहिले त सधैँ नयाँ लुगा लगाउन र मासु खान पाइन्छ,’ उनी भन्छिन् । उनका अनुसार दशैँको अर्को सुन्दर पक्ष भनेको आपसी मनमुटाव बिर्सेर आफन्तकहाँ पुग्नु र टीका लगाउनु हो । जतिसुकै रिसराग भए पनि दशैँमा भेटघाट गर्ने नेपाली परम्पराको आफ्नै महिमा रहेको उनी बताउँछिन् । यस वर्षको दशैँमा भने उनी भोटेकोशी बाढी पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छिन् । दुःखमा रहेका परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने उनको कामना छ ।

यस पटक दशैँ मनाउने इच्छा छैन ः भुवन चन्द

कलाकार भुवन चन्दका लागि पनि यस वर्षको दशैँ उत्सवभन्दा बढी संवेदनाको विषय बनेको छ । देशमा भएको अकल्पनीय क्षति र विपत्तिका कारण आफूलाई दशैँ मनाउने इच्छा नभएको उनी बताउँछिन् । चन्दका अनुसार दशैँ नेपालीको ठूलो चाड हो । पहिले गाउँघरमा दशैँ आउँदा नयाँ लुगा लगाउने, मासु खाने र आफन्तसँग भेटघाट गर्ने उत्साह हुन्थ्यो । तर अहिले धेरै कुरा सहज उपलब्ध हुन थालेकाले बाल्यकालमा जस्तो प्रतीक्षाको अनुभूति कम हुँदै गएको उनको बुझाइ छ । बाल्यकालको एउटा सम्झना उनलाई अझै याद छ । उनका बुवाले दशैँमा सिमसितारा भरिएको पातलो कपडा किनेर घाँघर सिलाइदिएका थिए । त्यही घाँघर लगाएर टोलभरि देखाउँदै नाच्दै हिँडेको सम्झना उनका लागि विशेष छ । ‘मलाई बुवाले ल्याएको घाँघर भनेर टोलभरि देखाउँदै नाचेर हिँडेको याद छ,’ उनी सुनाउँछिन् । चन्दका लागि दशैँको वास्तविक अर्थ आफन्त, छोरीबेटी र चेलीबेटीसँग भेटघाट गर्नु, सुखदुःखका कुरा गर्नु र सँगै बसेर खानपिन गर्नु हो । यद्यपि, यस वर्षको परिस्थितिमा आफूले दशैँ नमनाउने निर्णय गरे पनि अरूलाई भने आफ्नो इच्छाअनुसार चाड मनाउन उनी आग्रह गर्छिन् ।

चाडपर्व मनदेखि मनाउनुपर्छ ः हरिहर शर्मा

कलाकार हरिहर शर्माको विचारमा बाल्यकालको दशैँ र अहिलेको दशैँबीच ठूलो अन्तर छ । बाल्यकालमा नयाँ लुगा लगाउने, मीठो खाने र रमाइलो गर्ने उत्साह बढी हुन्थ्यो । अहिले भने जिम्मेवारी, कर्तव्य र दायित्व थपिँदै जाँदा चाडपर्वलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ । ‘बाल्यकाल भनेको बाल्यकाल नै हो । उफ्रेको छ, गएको छ, रमाइलो मानेको छ, नयाँ नाना लगाएको छ, मीठोमीठो खाएको छ,’ उनी भन्छन्, ‘त्यतिबेला दायित्वबोध कम हुन्थ्यो, अहिले बढी हुन्छ ।’ शर्मा चाडपर्वको बाहिरी तडकभडकभन्दा त्यसको मूल मर्मलाई महत्त्व दिनुपर्ने बताउँछन् । उनका अनुसार दशैँलाई भव्य रूपमा मनाउनैपर्छ भन्ने छैन । सरल रूपमा मनाए पनि त्यसको सांस्कृतिक र पारिवारिक महत्त्व कायम रहन्छ । दशैँमा अग्रजबाट टीका र आशीर्वाद लिने, आफूभन्दा सानालाई टीका लगाइदिने तथा जमरा लगाएर पारिवारिक आत्मीयता साट्ने परम्परा जोगाउनुपर्ने उनको धारणा छ । उनका लागि दशैँको सुन्दरता महँगो लुगा, ठूलो भोज वा देखावटी उत्सवमा नभैइ, मनदेखि मनाइने परम्परामा छ । उनी सबैलाई आफ्नो परम्परा र संस्कृतिको सम्मान गर्दै हाँसीखुसी दशैँ मनाउन र चाडको शुभकामना आदानप्रदान गर्न आग्रह गर्छन् ।

परम्परा जोगाऔँ, तडकभडक नगरौँ : मोहन आचार्य

कलाकार मोहन आचार्यलाई अहिलेको दशैँ पहिलेको जस्तो उत्साहपूर्ण लाग्दैन । पहिले परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा हुने, घरमै खसीबोका काट्ने, मासु पोलेर खाने र आफन्तसँग लामो समय बिताउने चलन थियो । अहिले भने धेरै मानिस व्यस्त भएका कारण दशैँको भेटघाट औपचारिकतामा सीमित हुँदै गएको उनको अनुभव छ । ‘पहिलाको दशैँ दशैँजस्तो हुन्थ्यो, अहिलेको दशैँ कामचलाउजस्तो मात्रै भएको देख्छु,’ उनी भन्छन्, ‘सबै व्यस्त छन् । टीका लगाउने, कुदिहाल्ने । पहिलेको जस्तो खुसी र रमाइलो अहिले भेटिँदैन ।’ बाल्यकालमा बाआमाले नयाँ लुगा ल्याइदिने प्रतीक्षा गर्नु, मीठो खान पाउनु र दक्षिणा पाएपछि कति पैसा पाइयो भनेर गन्नु उनका लागि दशैँका अविस्मरणीय क्षण हुन् । अहिले आफैँले कमाएर लुगा किन्नुपर्ने र धेरै कुरा बजारमै सहज रूपमा उपलब्ध हुने भएकाले बाल्यकालको दशैँजस्तो अनुभूति कम भएको उनी बताउँछन् । आचार्यले दशैँलाई केवल औपचारिकतामा सीमित गर्न नहुने बताए । परिवारसँग बसेर आत्मीयता साट्ने, परम्पराको सम्मान गर्ने र सबैसँग मिलेर चाड मनाउने संस्कृतिलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ । उनी दशैँमा अनावश्यक तडकभडक, देखासिकी र मादक पदार्थको अत्यधिक सेवनबाट टाढा रहन पनि आग्रह गर्छन् । ‘हाम्रो परम्परा र ऐतिहासिक महत्त्व बोकेको दशैँलाई सौहार्दपूर्ण वातावरणमा परिवारसँग मिलेर हाँसीखुसी मनाऔँ,’ उनी भन्छन् ।

उत्सवको शैली फरक, दशैँको मर्म एउटै

चार कलाकारका अनुभव र विचारले दशैँप्रतिको फरक अनुभूति उजागर गर्छन् । बसुन्धरा भुसाल र भुवन चन्द यस वर्षको विपत्तिपूर्ण परिस्थितिमा उत्सव नगर्ने पक्षमा छन् । हरिहर शर्मा चाडको मूल मर्म जोगाउँदै सरल रूपमा मनाउनुपर्ने बताउँछन् भने मोहन आचार्य परम्परागत आत्मीयता कायम राख्दै तडकभडकबाट टाढा रहनुपर्ने धारणा राख्छन् । उनीहरूका सम्झनामा बाल्यकालको दशैँ नयाँ लुगा, मीठो खानपिन, दक्षिणा र परिवारसँगको भेटघाटले भरिएको छ । अहिले समय बदलिएको छ, जीवनशैली फेरिएको छ र चाडपर्व मनाउने तरिका पनि बदलिएको छ । तर अग्रजबाट आशीर्वाद लिने, आफूभन्दा सानालाई माया बाँड्ने, आफन्तसँग भेटघाट गर्ने र सम्बन्धलाई प्रगाढ बनाउने परम्पराको महत्त्व भने उस्तै छ । दशैँको वास्तविक खुसी भड्किलो उत्सवमा मात्रै हुँदैन । दुःखमा परेकाप्रति संवेदना राख्नु, परिवार र समाजसँग आत्मीयता साट्नु तथा संस्कृतिको मर्म जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  ०९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार