Dashain Banner
Dashain Banner

देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका

बुधबार, कात्तिक ४, २०८३

सुर्खेत । देशभर दशैंको टीका लगाउने शुभसाइतको चटारो भइरहँदा डोल्पाको त्रिपुराकोटमा भने बाला त्रिपुरासुन्दरी मन्दिरको पूजा सम्पन्न हुने प्रतीक्षा गरिन्छ । यहाँ पञ्चाङ्गको साइतभन्दा देवीको पूजाविधि पूरा हुनुलाई टीका लगाउने मुख्य आधार मानिन्छ। परापूर्वकालदेखि चल्दै आएको परम्पराअनुसार दशमीको बिहानै स्थानीयले घरबाट टीका र जमरा लिएर मन्दिर पुग्छन् । देवीलाई टीका–जमरा चढाएर पूजाआजामा सहभागी हुन्छन् । मन्दिरको धार्मिक विधि पूरा गरी देवीलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै घरघरमा टीकाटालो सुरु हुने पुजारी भानुचन्द्र उपाध्यायले बताए । ‘नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ,’ उनले भने, ‘मन्दिरको पूजाविधि साँझतिर मात्रै सकिने भएकाले त्यसपछि टीका सुरु हुन्छ ।’ यहाँको दशैं देवीप्रतिको आस्था र पुर्खादेखि चल्दै आएको धार्मिक मान्यतासँग जोडिएको छ । पूजाविधि पूरा नगरी टीका लगाउनु हुँदैन भन्ने विश्वासका कारण स्थानीयले वर्षौँदेखि यो परम्परा निरन्तरता दिँदै आएका छन् । मन्दिरमा टीका सुरु भएपछि परिवारका सदस्य र आफन्त भेला भएर ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने गर्छन् । साँझदेखि सुरु हुने टीकाटालो कतिपय घरमा मध्यरातसम्म चल्छ । त्रिपुराकोटको यो चलन डोल्पाका अन्य क्षेत्रभन्दा फरक छ । दुनै, लिकु, पहाडा, रह, काइगाउँ, कालिका, जुफाल र माझफाललगायतका क्षेत्रमा भने ज्योतिष तथा पञ्चाङ्गले निर्धारण गरेको शुभसाइतमै दशैंको टीका लगाउने गरिन्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  ०९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार