सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार उनले छिट्टै नै काठमाडौं आएर आफ्नो कार्यभार सम्हाल्नेछन्। यसअघि उनी भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। उनी सन् २०२५ सेप्टेम्बर १ देखि मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारीमा थिए ।
कुशल कूटनीतिक अनुभव सन् १९९३ ब्याचका भारतीय विदेश सेवा (IFS) का अधिकारी दलेलाले इजरायलको तेल अभिभबाट आफ्नो कूटनीतिक करियरको शुरुआत गरेका थिए । त्यसयता उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगहरूमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । राजदूत नियुक्त हुनुअघि उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतको राजदूतको रूपमा सेवा गरेका थिए ।
छिमेकी मुलुक र नेपाल मामिलाका जानकार दलेलासँग नयाँ दिल्लीस्थित कूटनीतिक वृत्तमा पनि लामो अनुभव छ । उनले प्रधानमन्त्रीको कार्यालयमा निर्देशक (सन् २००९–२०११) को भूमिका निर्वाह गर्दै दक्षिण एसिया, पूर्वी एसिया, इन्डो-प्यासिफिक, खाडी मुलुक, मध्य पूर्व र अफ्रिकातर्फको भारतीय सम्बन्ध विस्तारमा काम गरेका थिए । त्यस्तै, विदेश मन्त्रालयमा निर्देशक (उत्तर– सन् २००६ देखि २००७) र सह-सचिव (उत्तर– सन् २०१६ देखि २०१९) को रूपमा उनले नेपाल र भुटानसँगको द्विपक्षीय सम्बन्धको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।
व्यापार नीति तथा बहुपक्षीय फोरममा अनुभव कूटनीतिक क्षेत्रबाहेक उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा निर्देशक (व्यापार नीति) र विश्व व्यापार संगठनस्थित भारतको स्थायी नियोगमा दुई पटक (सन् २०१४–२०१६ मा उप-स्थायी प्रतिनिधिको रूपमा समेत) सेवा पुर्याएका छन् । भारतीय विदेश सेवामा प्रवेश गर्नुपूर्व दलेलाले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक (इन्जिनियरिङ) पूरा गरेका थिए । नेपाल र भुटान मामिला नजिकबाट बुझेका अनुभवी कूटनीतिकज्ञ दलेलाको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।