सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य गत भदौमा औसत ६.३४ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो मूल्य वृद्धि ४.४७ प्रतिशतले बढी हो । भदौ २०८२ मा औसत मूल्यवृद्धिदर १.८७ प्रतिशत रहेको थियो । गएको दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.६९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर १.३४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको थियो । गत भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८, फलफूलको १५.९९, चिनी तथा चिनीजन्य पदार्थको १२.१४, माछा तथा मासुको ७.३४, तरकारीको ७.०७ र मरमसलाको ६.७१ प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७७, मदिराजन्य पेय पदार्थको ८.८३, कपडा तथा जुत्ताचप्पलको ७.०६, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको राष्ट्र बैंकको भदौ महिनाको प्रतिवेदनमा उल्लेख छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.७८ प्रतिशतले र सहर क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१९ प्रतिशतले बढेको छ । प्रदेशगत आधारमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि सवैभन्दा बढी मधेश प्रदेशको ७.४८ प्रतिशत र सवैभन्दा कम सुदूरपश्चिम प्रदेशको ५.१६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।