Dashain Banner
Dashain Banner

बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार

नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो
आइतबार, असोज २५, २०८३

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको जनाएको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार जगतबाट १७, यारुबाट २२, ठूलोढुङ्गाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुँबाट १२, नामरुङबाट तीन, देङ्गबाट तीन र धौलीबाट तीन जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको सेनाले जनाएको छ । बाढीबाट प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको छ । यसैबीच, बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज जडान गर्ने तयारीका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीसमेत परिचालन गरिएको छ । बाढीका कारण प्रभावित क्षेत्रको आवागमन अवरुद्ध भएपछि उद्धार तथा राहत कार्यलाई सहज बनाउन पुल पुनःस्थापनाको तयारी अघि बढाइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  २०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार