सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको आइतबार सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले भने ४८.४ ओभरमै अलआउट हुनुअघि दुई सय ११ रनमात्र बनाउन सक्यो । जारी शृंखलामा पहिलो खेल खेलेको नेपालको यो पहिलो जित हो भने क्यानडाको दोस्रो हार । आफ्नो पहिलो खेलमा क्यानडाको टोली आयोजक ओमानसँग ४१ रनले पराजित भएको थियो । जितसँगै नेपाल ३३ खेलबाट २६ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । ३४ खेलबाट २५ अंक जोडेको क्यानडा सातौँ स्थानमा झरेको छ । नेपालले अर्को खेल मंगलबार ओमानसँग खेल्नेछ । क्यानडालाई लक्ष्यसम्म पुग्न नदिन सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र नन्दन यादवले दुई–दुई विकेट लिए । ललितले १० ओभरमा एक मेडन राख्दै ३६ रन खर्चिए । सन्दीपले १० ओभरमा एक मेडन राख्दै ३३ रन खर्चिए । उनले १७ औँ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका थिए । करणले आठ ओभरमा ३६ रन दिए । नन्दनले ८.४ ओभरमा ४१ रन खर्चिए । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ४४ रन बनाए । समित गोहेलले पनि ३५ रन जोडे । त्यसअघि, नेपालका लागि अनुभवी ब्याट्सम्यान रोहित पौडेलले उत्कृष्ट शतकीय पाली खेलेका थिए । उनले एक सय २७ बलमा एक छक्का र आठ चौकाको मद्दतले एक सय एक रन बनाए । २४ वर्षीय पूर्वकप्तान रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो शतक बनाएका हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी शतक प्रहार गर्ने नेपाली खेलाडी पनि बनेका छन् । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले दुई–दुई वटा शतक बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १२ वटा अर्धशतक पनि बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको रन संख्या दुई हजार चार सय ५७ पुगेको छ । ९१ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका उनी यो ढाँचाको क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । यो ढाँचाको क्रिकेटमा आसिफ शेखले दुई हजार एक सय ७८ रन बनाएका छन् । क्यानडाविरुद्ध सातौँ नम्बरमा क्रिज समाल्न आएका गुलसन झाले पनि टोलीको खातामा महत्वपूर्ण योगदान गरे । उनी केवल दुई रनका कारण अर्धशतक पूरा गर्नबाट चुके । आक्रामक रुपमा प्रस्तुत भएका २० वर्षीय गुलसनले पेभेलियन फर्किनुअघि केवल ३४ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काएका थिए । नेपालका लागि माथिल्लो क्रममा अन्य ब्याट्रले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर अर्जुन कुमाल २३ रनमा पेभेलियन फर्किए । अर्जुनले ५४ बलमा चार चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेख चार रनमै आउट भए । उनले तीन बलमा एक चौका प्रहार गरे । ईशान पाण्डेले शून्य रनमै पेभेलियन फर्किए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले टोलीको खातामा ३० रन थपे । यसक्रममा उनले ५७ बलको सामना गरी तीन चौका पनि हिर्काए । अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने ६ रनभन्दा अगाडि बढ्न सकेनन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले १० बलमा एक चौका हिर्काए । करण केसी चार रनमा आउट भए । नन्दन यादवले दुई रन जोडे । कप्तान सन्दीप लामिछानेले अविजित दुई रन बटुले । ललित राजवंशी दुई रनमा पेभेलियन फर्किए । नेपाली टोलीले अतिरिक्त रुपमा पनि १३ रन पायो । क्यानडाका बलर अखिल कुमारले चार र सुखजिन्दर सिंहले तीन विकेट लिए ।