विश्व टेलिभिजन दिवस

डिजिटल युगको दबाबमा टेलिभिजन : दर्शक, विज्ञापन र विश्वसनीयताको चुनौती

काठमाडौं । पछिल्लो समयमा विश्वका अन्यन्त्रका टेलिभिजनजस्तै नेपाली टेलिभिजन उद्योगले पनि आफ्नो अस्तित्व र प्रभावकारिता कायम राख्न नयाँ चुनौतीको सामना गर्न बाध्य हुनुपरिरहेको विज्ञहरुले बताएका छन् । विज्ञहरुका अनुसार दर्शकसँगै विज्ञापन बजार, आर्थिक स्रोत र दक्ष जनशक्तिसमेत डिजिटल माध्यमतर्फ आकर्षित हुन थालेपछि टेलिभिजनका चुनौती थपिएका छन् । उनीहरुका अनुसार सूचना, शिक्षा र मनोरञ्जनको प्रभावकारी माध्यमका रूपमा स्थापित टेलिभिजन अहिले आफैँ रूपान्तरणको चुनौतीमा छ । कुनै समय समाचार र सूचनाको प्रमुख स्रोत मानिने टेलिभिजनको पर्दाबाट दर्शक विस्तारै डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको विज्ञको राय छ ।  नेपालमा २०४१ सालमा नेपाल टेलिभिजनबाट सुरु भएको टेलिभिजन प्रसारण यात्रा अहिले निजी तथा सामुदायिक टेलिभिजन च्यानलसम्म विस्तार भएको छ । नेपाली भाषा, कला, संस्कृति, साहित्य, पर्यटन र सामाजिक मुद्दाको प्रवद्र्धनमा पनि टेलिभिजनले योगदान पुर्याउँदै आएको छ । तर, प्रविधिमा आएको तीव्र परिवर्तनसँगै टेलिभिजनको परम्परागत स्वरूप र व्यावसायिक संरचनामाथि दबाब बढेको छ । युट्युब, फेसबुक, टिकटक तथा अन्य डिजिटल प्लेटफर्मले समाचार र मनोरञ्जनका सामग्री उपभोग गर्ने दर्शकको बानी परिवर्तन गरिरहेका छन् । यसले टेलिभिजनको दर्शक सङ्ख्यामा मात्र नभई विज्ञापन बजार, कार्यक्रम उत्पादन, जनशक्ति व्यवस्थापन र आर्थिक दिगोपनमा समेत प्रभाव पारेको बताउँदै विज्ञहरुले विश्व टेलिभिजन दिवसका अवसरमा यी विषयबारे छलफल चलाइनुपर्ने बताए । नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरेर बनेको सार्वजनिक सेवा प्रसारण (पीएसबी) का पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष महेन्द्र विष्ट सूचना प्रविधिमा आएको परिवर्तनसँगै टेलिभिजनको परम्परागत प्रसारण प्रणाली चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । यद्यपि टेलिभिजनको प्रभावकारिता भने समाप्त नभएको उनको भनाइ छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘सूचना प्रविधिमा आएको परिवर्तन र डिजिटल प्लेटफर्मको विस्तारसँगै टेलिभिजन प्रसारण चुनौतीपूर्ण बन्दै गएको छ । तर यसको प्रभावकारिता घटेको छैन, बरु यो अझै महत्वपूर्ण बनेको छ । विशेषगरी नेपालजस्ता विकासोन्मुख राष्ट्रमा टेलिभिजन पत्रकारिताको आवश्यकता अझ बढी छ ।’ उनका अनुसार पूर्वाधारको विकास र साक्षरताको अवस्था अझै चुनौतीपूर्ण रहेको नेपालजस्तो विकासोन्मुख मुलुकमा टेलिभिजन पत्रकारिताको महत्व उत्तिकै छ । त्यसैले टेलिभिजनलाई मूलधारको सञ्चार माध्यमका रूपमा स्थापित राख्न राज्य र सञ्चार क्षेत्र दुवै गम्भीर हुनुपर्ने उनको धारणा छ । टेलिभिजन क्षेत्रलाई समयअनुसार विकास गर्न प्रविधिगत, विषयगत र नीतिगत तीनै पक्षमा परिवर्तन आवश्यक रहेको उनी बताउँछन् । पहिले टेरेस्ट्रियल प्रसारण, त्यसपछि स्याटेलाइट र अहिले डिजिटल प्लेटफर्मको विकास भइरहेको सन्दर्भमा नयाँ प्रविधि आत्मसात् गर्न राज्यले नीतिगत सहयोग गर्नुपर्ने उनको भनाइ छ । टेलिभिजनमा दर्शक फर्काउन नागरिक सरोकारका विषयलाई प्राथमिकता दिनुपर्नेमा पनि उनको जोड छ । दर्शकको आवश्यकता र रुचिअनुसारका विषयवस्तु प्रस्तुत गर्न सके टेलिभिजनले आफ्नो प्रभावकारिता कायम राख्न सक्ने उनको विश्वास छ ।

विज्ञापन बजारभन्दा बढी टेलिभिजन, लगानी र नियमनको समस्या

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा विज्ञापन बोर्डका पूर्व अध्यक्ष लक्ष्मण हुमागाईं भने नेपाली टेलिभिजन उद्योगको संकटलाई मुख्यतः आर्थिक तथा संस्थागत समस्यासँग जोडेर हेर्छन् । उनका अनुसार नेपालको विज्ञापन बजारको आकार र टेलिभिजन च्यानलको सङ्ख्याबीच सन्तुलन कायम हुन सकेको छैन । बजारको सम्भाव्यता, लगानीको स्रोत र आर्थिक क्षमताको मूल्याङ्कन नगरी टेलिभिजन सञ्चालनका लागि अनुमति दिइनु नै उद्योगको एउटा प्रमुख समस्या बनेको उनको विश्लेषण छ । ‘जति विज्ञापन बजार छ, त्यसको तुलनामा धेरै सङ्ख्यामा टेलिभिजन खुले । संसारभर टेलिभिजन सञ्चालन गर्न अनुमति दिँदा बजारको सम्भाव्यता, पुँजी र लगानीको पारदर्शितासमेत हेरिन्छ । नेपालमा भने यी पक्षको पर्याप्त मूल्याङ्कन हुन सकेन,’ उनी भन्छन् । हुमागाईंका अनुसार टेलिभिजन उद्योगको अर्को समस्या कार्यक्रम उत्पादन, विज्ञापन व्यवस्थापन र प्रसारणको जिम्मेवारी एउटै संस्थाले निर्वाह गर्नु हो । अन्तर्राष्ट्रिय अभ्यासमा सिर्जनात्मक कम्पनीले कार्यक्रम उत्पादन गर्ने, विज्ञापन एजेन्सीले बजारीकरण गर्ने र टेलिभिजन प्रसारकले प्रसारण गर्ने व्यवस्था रहेको उनी बताउँछन् । नेपालमा भने टेलिभिजन संस्थाले नै यी सबै काम गर्नुपर्ने अवस्था छ । यसले कार्यक्रम उत्पादनको गुणस्तर र उद्योगको संस्थागत विकासमा समेत असर पारेको उनको विश्लेषण छ । उनका अनुसार टेलिभिजन उद्योगको समग्र विकासका लागि लगानीकर्ता, पत्रकार, कर्मचारी र श्रमिक सबैको हित संरक्षण हुने गरी नीति बनाउन आवश्यक छ । त्यसका लागि सञ्चार क्षेत्रलाई नियमन गर्ने सशक्त र स्वतन्त्र नियामक निकाय आवश्यक रहेको उनको धारणा छ । विज्ञापन बजार डिजिटल प्लेटफर्मतर्फ सर्दै जानु र सरकारी विज्ञापन वितरणसम्बन्धी नीतिगत निर्णयले निजी सञ्चार माध्यममा पार्ने प्रभावबारे पनि उनले चिन्ता व्यक्त गरेका छन् ।  यद्यपि टेलिभिजनको भविष्य पूर्णतः निराशाजनक नभएको उल्लेख गर्दै हुमागाईंले विषयवस्तु अर्थात् कन्टेन्टलाई नै अबको प्रतिस्पर्धाको मुख्य आधार हुनुपर्ने बताए । ‘पहिले मिडिया किङ भनिन्थ्यो, अहिले कन्टेन्ट इज किङ भएको छ । जुनसुकै प्लेटफर्ममा भए पनि सशक्त र प्रभावकारी कन्टेन्ट बनाउन सकियो भने टिक्न र अघि बढ्न सकिन्छ,’उनी भन्छन् ।

दर्शकसँगै विज्ञापन र जनशक्ति पनि डिजिटलतर्फ

सार्वजनिक सेवा प्रसारण (पीएसबी) का पूर्व सदस्य तथा अनुसन्धानकर्ता डा. भूमिराज चापागाईं पनि टेलिभिजन क्षेत्रको वर्तमान संकटलाई दर्शकको बदलिँदो व्यवहारसँग जोडेर हेर्छन् । उनका अनुसार परम्परागत सञ्चार माध्यमबाट डिजिटल माध्यमतर्फ दर्शक सर्ने क्रम बढेसँगै टेलिभिजनले आफ्नो ठूलो दर्शक समूह गुमाइरहेको छ । यससँगै आर्थिक स्रोत र दक्ष जनशक्ति पनि अन्यत्र सर्ने क्रम बढेको छ । ‘लिगेसी मिडियाबाट डिजिटल मिडियातर्फ दर्शक सर्ने क्रमले टेलिभिजन क्षेत्रलाई ठूलो असर पारेको छ । दर्शकसँगै आर्थिक स्रोत र मानव संसाधनसमेत डिजिटल माध्यमतर्फ सर्ने क्रम बढिरहेको छ,’ उनी भन्छन् । चापागाईंका अनुसार सामाजिक सञ्जालको प्रभावले टेलिभिजनको दर्शक सङ्ख्यामा मात्र असर पारेको छैन, यसले विज्ञापन बजार र कार्यक्रम उत्पादनको क्षमतामा समेत प्रत्यक्ष प्रभाव पारेको छ । दर्शक डिजिटल प्लेटफर्ममा सर्दा टेलिभिजनमा जाने विज्ञापनको स्रोत पनि घट्दै गएको उनको विश्लेषण छ । विज्ञापनबाट प्राप्त हुने आम्दानी घट्दा गुणस्तरीय कार्यक्रम उत्पादनका लागि आवश्यक स्रोतको अभाव हुने र दक्ष जनशक्तिलाई संस्थामै टिकाइराख्न कठिन हुने अवस्था सिर्जना भएको उनी बताउँछन् । ‘टेलिभिजनमा आउने स्रोत घटेपछि राम्रो गुणस्तरका कार्यक्रम उत्पादन गर्न कठिन हुन्छ। दक्ष जनशक्तिलाई टिकाइराख्न पनि समस्या हुन्छ । त्यसपछि पत्रकार तथा सञ्चारकर्मीले वैकल्पिक माध्यम खोज्न थाल्छन्,’ उनी भन्छन् । यद्यपि डिजिटल प्लेटफर्मको विस्तारसँगै टेलिभिजनको सान्दर्भिकता समाप्त नहुने उनको विश्वास छ । सामाजिक सञ्जालमा गलत सूचना, भ्रामक सामग्री र अफवाह फैलिने जोखिम बढिरहेको अवस्थामा तथ्यपरक तथा विश्वसनीय सूचना उपलब्ध गराउने माध्यमका रूपमा टेलिभिजनको भूमिका अझ महत्वपूर्ण हुन सक्ने उनको धारणा छ । ‘सामाजिक सञ्जाल जति नै प्रयोग गरे पनि कुनै घटनाको वास्तविकता के हो भनेर थाहा पाउन विश्वसनीय माध्यम आवश्यक हुन्छ । सत्यतथ्य सूचना दिन सक्ने भएकाले टेलिभिजनको विश्वसनीयता र सान्दर्भिकता अझै कायम छ,’ चापागाईं भन्छन् ।

आर्थिक संकटका बाबजुद टेलिभिजनप्रतिको आकर्षण घटेको छैन 

यसैगरी विश्व टेलिभिजन दिवसका अवसरमा एभिन्यूज टेलिभिजनका समाचार प्रमुख कृष्ण मल्लले नेपालको टेलिभिजन उद्योग आर्थिक संकटबाट गुज्रिरहेको भए पनि टेलिभिजनप्रतिको आकर्षण र यसको महत्त्वमा कमी नआएको बताएका छन् । लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय मल्लले देशको कमजोर आर्थिक अवस्था, उद्योग तथा व्यवसायमा आएको मन्दी र विज्ञापन बजार खुम्चिँदा टेलिभिजन क्षेत्र प्रत्यक्ष प्रभावित भएको बताए । टेलिभिजन सञ्चालनका लागि आवश्यक उपकरण, प्रविधि र जनशक्तिमा ठूलो लगानी गर्नुपर्ने भएकाले अन्य सञ्चारमाध्यमको तुलनामा यसको सञ्चालन खर्च बढी हुने उनको भनाइ छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘ टेलिभिजनको अवस्था आर्थिक रूपमा दयनीय छ । तर टेलिभिजनप्रतिको आकर्षण घटेको छैन । टेलिभिजनको अवस्था आर्थिक रूपमा दयनीय किन भएको हो भने एउटा देशको आर्थिक अवस्था पनि राम्रो हुन सकेन, देशको आर्थिक अवस्था पनि जर्जर भयो, त्यसको प्रत्यक्ष मार सञ्चार माध्यममा प¥यो र सञ्चार माध्यममा एउटा बलियो सञ्चार माध्यम भनेको टेलिभिजन पनि हो र टेलिभिजन निकै महँगो एउटा उद्योग हो । टेलिभिजनमा आर्थिक रूपमा समस्या छ तर टेलिभिजनको महत्त्व र टेलिभिजनले दिने सूचना, टेलिभिजनले दिने मनोरञ्जन र टेलिभिजनप्रतिको आकर्षण भने घटेको छैन ।’ सूचना, समाचार र मनोरञ्जन प्रदान गर्ने माध्यमका रूपमा टेलिभिजनको आवश्यकता र दर्शकमाझ यसको आकर्षण यथावत् रहेको उनले उल्लेख गरे । पछिल्लो समय फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा टेलिभिजनको दर्शक र विश्वसनीयतामा असर परेको भन्ने धारणासँग मल्ल सहमत छैनन् । बरु सामाजिक सञ्जालले टेलिभिजनका सामग्रीको पहुँच विस्तार गर्न सहयोग पुर्‍याएको उनको भनाइ छ । उनका अनुसार अहिले टेलिभिजन संस्थाहरूले आफ्नै फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राम च्यानल सञ्चालन गरी टेलिभिजनमा उत्पादन भएका समाचार, अन्तर्वार्ता तथा मनोरञ्जनात्मक सामग्री डिजिटल माध्यमबाट पनि प्रसारण गरिरहेका छन् । यसले सामग्रीको प्रचारप्रसारसँगै आम्दानीका नयाँ अवसरसमेत सिर्जना गरेको छ । परम्परागत रूपमा टेलिभिजन सेटअगाडि बसेर कार्यक्रम हेर्ने दर्शकको संख्या घटेको हुन सक्ने भए पनि टेलिभिजनबाट उत्पादित सामग्री हेर्ने दर्शकको पहुँच भने बढेको मल्लको तर्क छ ।  टेलिभिजन क्षेत्रको विकासका लागि नीतिगत सुधार, प्रविधिको आधुनिकीकरण र दक्ष जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए । सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित टेलिभिजनको प्रकृति फरक भए पनि दुवै क्षेत्रमा काम गर्ने पत्रकार तथा कर्मचारीले उचित सेवा सुविधा पाउनुपर्ने उनको धारणा छ । त्यसैगरी, नेपालको टेलिभिजन उद्योगको विकासका लागि सरकारले निजी क्षेत्रको लगानी प्रवद्र्धनमा समेत ध्यान दिनुपर्ने उनले बताए । आन्तरिक लगानीका साथै वैदेशिक लगानी भित्र्याउन स्पष्ट नीतिगत व्यवस्था र पारदर्शी प्रक्रिया आवश्यक रहेको उनको धारणा छ । प्रत्यक्ष रूपमा नभई सरकारी स्वीकृति र निश्चित प्रक्रियामार्फत वैदेशिक लगानी भित्र्याउने व्यवस्था गर्न सके टेलिभिजन उद्योगको विस्तारमा सहयोग पुग्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार