सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार भएको पुरुष फुटबलको दोस्रो खेलमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै मधेशले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । खेलको पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि कुनै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा मधेश प्रदेशका विकास दर्लामीले खेलको ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेल ढिलो गरी सुरु भएका कारण निर्धारित समय घटाइएको थियो । मधेश र सुदूरपश्चिमबीचको खेल ३५–३५ मिनेटमा सीमित गरिएको थियो । यसअघि मंगलबार नै भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । पुरुष फुटबलअन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।