सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतले पनि प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणको औपचारिक घोषणा गरेको छ । भारतको विदेश मन्त्रालयले शुक्रबार बालेनको दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा गरेको हो । प्रधानमन्त्री शाह आइतबार दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् । शाहको यो नै पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी, आगामी नोभेम्बर २३ तारिख (मङ्सिर ७ गते) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच औपचारिक द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूको समीक्षा गरिनुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा विचार आदानप्रदान हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत र जनस्तरको प्रगाढ सम्बन्ध रहेको उल्लेख छ। व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत र भौतिक तथा डिजिटल कनेक्टिभिटी लगायतका विविध क्षेत्रमा द्विपक्षीय सहकार्यले प्रगति हासिल गरिरहेको भारतले जनाएको छ । यसका साथै स्टार्टअप, प्रविधि तथा नवप्रवर्तन (इनोभेसन) र खेलकुदजस्ता नयाँ क्षेत्रहरूमा समेत दुई देशबीच सहकार्य बढ्दै गएको उल्लेख छ । यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको उच्च महत्त्वलाई प्रतिविम्बित गर्ने विज्ञप्तिमा जनाइएको छ ।