सञ्चार नियमनमा अधिकार सम्पन्न संयन्त्र बनाउने तयारी

अधिकार क्षेत्र स्पष्ट गर्न प्रदेशको माग
सोमबार, असोज १९, २०८३

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार क्षेत्रको नियमनका लागि कानुनमार्फत अधिकार सम्पन्न र प्रभावकारी संस्थागत संयन्त्र बनाउने तयारी भइरहेको बताएका छन् । बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारी र मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्कासँग आज मन्त्रालयमा भएको छलफलमा उनले प्रस्तावित प्रेस काउन्सिल विधेयक र आमसञ्चार विधेयकमार्फत नियामक निकायलाई सुदृढ बनाउने बताएका हुन् ।
छलफलमा प्रदेशका निकाय प्रमुखहरूले सञ्चारमाध्यमको दर्ता, अभिलेखीकरण, अनुमतिपत्र र नियमनसम्बन्धी अधिकार स्पष्ट नहुँदा प्रदेश स्तरमा काम गर्न समस्या भइरहेको बताएका छन्। उनीहरूले संघीय र प्रदेश कानुनबीच सामञ्जस्य कायम हुने गरी कानुनी व्यवस्था गर्न सुझाव दिएका छन्।

स्वतन्त्रतासँगै जिम्मेवारीमा जोड
मन्त्री तिमिल्सिनाले सञ्चारमाध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारितालाई जिम्मेवार र व्यावसायिक बनाउन नियामक संयन्त्र प्रभावकारी हुनुपर्ने बताएका छन् । पत्रकार आचारसंहिताको कार्यान्वयन तथा सञ्चारमाध्यमको जिम्मेवारी र नियमनसम्बन्धी व्यवस्था स्पष्ट बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
“मिडियालाई कसरी जिम्मेवार बनाउने भन्ने सन्दर्भमा हामी बढी जिम्मेवार हुनुपर्नेछ । आजको भन्दा व्यवस्थित बनाउनका लागि नयाँ ऐन–नियम चाहिएको हो,” उनले भनेका छन् ।

नियामक संस्थालाई अधिकार सम्पन्न बनाउनुका साथै सञ्चार तथा पत्रकारिता क्षेत्रका विद्यमान समस्या समाधान गर्न सक्ने संरचना विकास गर्ने उद्देश्य रहेको उनले बताएका छन् ।

दर्ता र नियमनमा कानुनी स्पष्टताको माग
प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका प्रमुखहरूले आमसञ्चारसम्बन्धी विधेयक परिमार्जन गर्दा तीन तहका सरकारको अधिकार क्षेत्र र जिम्मेवारी स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन्।

संघीय कानुन निर्माणमा भएको ढिलाइ तथा संघ र प्रदेशका कानुनबीच आवश्यक सामञ्जस्य नहुँदा प्रदेशले बनाएका कानुनी र संस्थागत व्यवस्थाको कार्यान्वयनमा समस्या देखिएको उनीहरूको भनाइ छ ।

मन्त्री तिमिल्सिनाले विधेयकमार्फत संघ, प्रदेश र स्थानीय तहबीच सञ्चार क्षेत्रसँग सम्बन्धित अधिकार, जिम्मेवारी र समन्वय स्पष्ट पारिने बताएका छन्। संघीय संरचनाअनुसार कानुन र संस्थागत व्यवस्थाबीच समन्वय हुन नसक्दा देखिएका समस्या नयाँ कानुनबाट सम्बोधन गर्ने उनको भनाइ छ ।

सुझाव समेटेर विधेयक परिमार्जन गर्ने प्रतिबद्धता
मन्त्री तिमिल्सिनाले संसद् तथा संसदीय समितिमा पर्याप्त छलफल र आवश्यक परिमार्जनपछि आमसञ्चारसम्बन्धी विधेयक कार्यान्वयनयोग्य ऐनका रूपमा आउने विश्वास व्यक्त गरेका छन् ।

विधेयक निर्माण र परिमार्जनका क्रममा सञ्चार क्षेत्रका सरोकारवालाको सुझाव समेटिने उनले बताएका छन् । प्रदेशका निकायबाट प्राप्त सुझावलाई पनि आवश्यकताअनुसार आगामी कानुनी व्यवस्थामा समावेश गर्दै निरन्तर छलफल अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार