असामाजिक बन्दै गैरहेको सामाजिक सञ्जाल 

शनिबार, असोज १०, २०८३

आजको युगमा सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब आदि) मानिसहरूका लागि मनको बह विसाउने चौतारी, बौद्धिक विमर्श गर्ने थलो, सूचना आदानप्रदान गर्ने स्थान, व्यस्त समयमा आफन्त र समाजलाई जोड्ने, अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने, प्रतिभा प्रदर्शन गर्ने र मनोरञ्जन लिने एउटा प्रमुख माध्यम भएको कुरामा बिमति छैन । यसले सामाजिक विकासमा पुर्याएको योगदान अवर्णनीय छ, साँच्चै भन्दा यो आधुनिक विज्ञानको वरदान हो । तर, यसको अत्यधिक प्रयोगसँगै दुरुपयोगमा पनि दिनानुदिन बृद्धि हुँदै गइरहेको छ ।

सामाजिक सञ्जालमा अशोभनीय र अश्लील सामग्रीहरू पोस्ट गर्ने, व्यक्तिको चरित्र हत्या गर्ने र सामाजिक, साम्प्रदायिक र धार्मिक सद्भाव बिग्रिने गरी एक अर्का प्रति घृणास्पद अभिव्यक्ति फैलाउने प्रवृत्ति निकै बढि रहेको छ । हाम्रो समाज भित्र एउटा गम्भीर सामाजिक रोगको रुपमा, यो असामाजिक सञ्जाल बन्दै छ कि भन्ने अवस्थामा हामी र हाम्रो समाज आईपुगेको छ । यस सञ्जालकै कारण व्यक्तिगत जीवनदेखि लिएर परिवार, समाज र राष्ट्रिय एकतामा नै गम्भीर खलल र खटपट हुन थालेको आभाष हुन्छ । यसका माध्यमबाट हामी सकारात्मकता तर्फ उन्मुख हुनुपर्नेमा नकारात्मकता तर्फ गइरहेको अवस्था छ । सञ्जाल प्रयोगकर्ताहरु यती आक्रामक र अराजक बन्न थालेका छन कि आफूलाई मन नपर्ने कुरा कसैले बोल्यो या लेख्यो भने तत्काल हिंसात्मक आक्रमणमा उत्रन्छन । उनीहरुका आक्रमण सुन्नै नसकिने अश्लील गाली र व्यक्तिको चरित्रहत्यासम्म पुग्छ । 

शदीयौंदेखि भाइचाराको सम्बन्धमा रहेको नेपाली समाजलाई भाँड्ने अभिव्यक्तिहरु प्रतिदिन बढ्दै गएको छ । एउटा जाती सम्प्रदाय र धर्मको पक्ष र विपक्षमा सुन्नै नसकिने अनावस्यक विवाद र तर्कहरु यसै मार्फत प्रस्तुत गरिन्छन । साँच्चै भन्दा सामाजिक सञ्जाल समाज जोड्ने होइन तोड्ने माध्यम बन्न थालेको हो कि भन्ने देखिन्छ जुन चिन्ताको विषय हो ।  

सामाजिक सञ्जालमा विकृति बढ्नुका मुख्य कारणहरूमा अरूलाई गालीगलौज गर्दा वा छाडा सामग्री राख्दा पनि कानूनी कारबाही भोग्नु पर्दैन, जे गरे पनि रमाइलो नै हो भन्ने गलत बुझाई, कम समयमै धेरैको ध्यान आफू तर्फ आकर्षित गर्न र पैसा कमाउने लोभमा संवेदनशील र अश्लील विषयवस्तुलाई अतिरञ्जित गरेर प्रस्तुत गर्ने । अर्काको व्यक्तिगत जीवन वा मनोभावनामा आघात पुर्याउनु पनि अपराध हो भन्ने कुराको महसुस गर्न नसक्नु । सामाजिक सञ्जालका एल्गोरिदमहरूले विवादित र घृणास्पद सामग्रीमा बढी (लाइक÷कमेन्ट÷सेयर) देख्ने भएकाले त्यस्ता पोस्टहरूलाई बढी महत्व दिएर प्रचार प्रसार गर्नु । प्रयोगकर्ताहरु कानूनको कार्यान्वयनमा उदासीन रहनु । नैतिकता, धर्म र अनुशासनको पूर्ण रुपमा बेवास्ता गर्नु । कानून र धर्मसँग कसैको डर र भर नहुनु नै मुख्य हुन ।

यसका नकारात्मक असरहरूमा, चरित्र हत्याका कारण व्यक्तिहरु एकोहोरिने, डिप्रेसनमा जाने र कतिपय अवस्थामा आत्महत्या गर्नेसम्मका घटनाहरू भएका छन् । जात, धर्म, क्षेत्र वा लिङ्गका आधारमा फैलाइने घृणास्पद अभिव्यक्तिले समाजमा आपसी भाइचारा र सहिष्णुतालाई नामेट पार्ने र सामाजिक सद्भावमा खलल पार्ने कार्य भएको देखिन्छ । अश्लील र घृणास्पद सामग्रीसँगै गलत सूचना छिटो फैलिन गई शान्ति सुरक्षा र अमन्चयनमा चुनौती थपिएको अवस्था छ ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न व्यक्ति, समाज र राज्य सबैको एकीकृत प्रयास आवश्यक छः

१. व्यक्तिगत र सामाजिक स्तरमा स्व–अनुशासन, नैतिकता र मर्यादामा रहने, कुनै पनि सामग्री पोस्ट वा सेयर गर्नुअघि यसको सत्यता, विश्वसनीयता र अन्य व्यक्तिहरुमा आफूले गरेको कार्यले कस्तो असर पार्छ भन्ने कुरामा सम्बेदनशील रहनु पर्छ । अश्लील, छाडा वा सामाजिक जातीय र धार्मिकरुपमा घृणा फैलाउने सामग्री वा अकाउन्ट देखिएमा त्यसलाई तुरुन्तै सम्बन्धित निकायमा उजुरी गर्ने वा ब्लक गर्ने गर्नुपर्छ । यस्ता विकृत र खराब पोस्टहरूमा कमेन्ट गरेर वा सेयर गरेर तिनलाई थप भाइरल बनाउनुको साटो पूर्ण रूपमा बेवास्ता गर्नुपर्छ ।

२. राज्य स्तरमा : कडा कानून निर्माण र कार्यान्वयनः साइबर अपराधसम्बन्धी कानूनलाई अझ स्पष्ट र कडा बनाउँदै दोषीलाई ढिलो नगरी कानूनी दायरामा ल्याउनुपर्छ । नेपाल प्रहरीको साइबर ब्युरोको सबलीकरण गर्दै साइबर अपराध नियन्त्रण गर्ने संयन्त्र(साइबर व्यूरो)लाई प्रविधियुक्त, सशक्त र दक्ष बनाई द्रुत अनुसन्धान गर्ने वातावरण बनाउनुपर्छ । नेपालमा सञ्चालित सामाजिक सञ्जालका कम्पनीहरूलाई नेपालभित्रै अनिवार्य दर्ता गराई स्थानीय भाषामा हुने छाडा र घृणास्पद सामग्रीहरू तुरुन्तै हटाउने व्यवस्था गरिनुपर्छ ।

३. शैक्षिक र पारिवारिक स्तरमा : विद्यालय स्तरमै बालबालिका तथा युवाहरूलाई सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने भन्ने बारेमा र अनलाइन सुरक्षाबारे पाठ्यक्रममै समेटेर सचेत गराउनुपर्छ । आफ्ना बालबालिकाहरूले अनलाइनमा के गरिरहेका छन् , के हेरिरहेका छन भन्नेमा अभिभावकहरू पनि सतर्क र सजग हुनुपर्छ ।

निष्कर्ष

सामाजिक सञ्जाल आफैँमा खराब प्रविधि होइन यो त मानव जीवनको सहजताका लागि अपरिहार्य आवस्यकता हो । तर यसको प्रयोग कसरी गरिन्छ भन्ने कुरा मुख्य हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा अरूको अधिकार माथि धावा बोल्ने, समाजमा घृणा फैलाउने, अरुलाई हेप्ने दुव्र्यवहार गर्ने छुट कसैलाई छैन । यस्ता गैरकानूनी कार्यहरु दण्डनीय हुन्छन । तसर्थ, राज्यले कडाइका साथ कानूनको परिपालना गराउने र प्रयोगकर्ताहरूले पनि जिम्मेवार भई सभ्य नागरिकको परिचय दिने हो भने मात्र सामाजिक सञ्जाललाई सुरक्षित र उपयोगी बनाउन सकिन्छ । यस सम्बन्धमा विशेष गरी सञ्चार माध्यम र सञ्चारकर्मीहरु पनि आचार संहिता पालन गर्दै संवेदनशील बन्नु जरुरी छ । भाइरल बन्ने निहुँमा कसैका व्यक्तिगत कूरालाई बजारमा छरपस्ट गरिदिने काम पनि अपराध नै हो ।

कसैको पीडा र विवशतालाई मनोरञ्जन, आय आर्जन र लेनदेनको साधन बनाउने , व्यक्तिहरुको चरित्र हत्या गर्ने लगायतका कार्य नियन्त्रण गर्न कानून र कानून कार्यान्वयन गर्ने निकाय निर्मम हुनै पर्छ, शुन्य सहनशीलता अपनाउनु पर्छ । यदि सामाजिक सञ्जाललाई कडाइका साथ नियमन र नियन्त्रण गरिएन र छाडा छोडियो भने भोलिका दिनमा हाम्रो समाज र राज्यसत्ता अनैतिक, अनुशासनहीन र अराजकहरुको हातमा नपुग्ला भन्न सकिँदैन । 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार