Dashain Banner
Dashain Banner

स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता

शनिबार, असोज २४, २०८३

कालीकोट । स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र कालीकोट जिल्ला अस्पतालबीच द्विपक्षीय समझदारी भएको छ । प्रतिष्ठान र अस्पतालबीच स्वास्थ्य सेवा प्रवाह, जनशक्ति परिचालन र संस्थागत सुदृढीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । जिल्लाको समग्र स्वास्थ्य प्रणालीलाई जनमुखी र भरपर्दो बनाउन प्रतिष्ठान र अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले जानकारी दिए ।  ‘दुई पक्षबीच भएको समझदारीअनुसार प्रतिष्ठानले कालीकोट अस्पतालको आवश्यकताका आधारमा विशेषज्ञ चिकित्सक, इन्टर्न डाक्टर तथा नर्सिङ जनशक्ति परिचालन गर्नेछ,’ उनले भने भने, ‘जिल्लामा खटिने स्वास्थ्यकर्मीहरूको आवश्यक स्थानीय व्यवस्थापन, समन्वय तथा कार्यसञ्चालनको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य सेवा कार्यालय कालीकोटले लिनेछ ।’ दुवै संस्थाबीच स्वास्थ्य सेवा, शिक्षण–सिकाइ, जनशक्ति विकास, अनुसन्धान तथा विशेषज्ञ स्वास्थ्य सेवामा सहकार्य गर्ने सहमति भएको छ । साथै, प्रतिष्ठानका विद्यार्थीहरूको ग्रामीण पोस्टिङका लागि जिल्ला अस्पतालमा आवश्यकताअनुसार अभ्यास, अवलोकन तथा क्लिनिकल सिकाइको अवसर प्रदान गर्ने विषयमा पनि सम्झौता भएको प्रमुख डा. सुनारले बताए ।  त्यस्तै, प्रतिष्ठानले अस्पतालका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, अभिमुखीकरण तथा सीप विकास कार्यक्रम सञ्चालन गर्न सहयोग गर्नेछ । दुवै संस्थाको समन्वयमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि नियमित सिएमई, कार्यशाला तथा गोष्ठीहरू आयोजना गरिनेछ । सम्झौताअनुसार प्रतिष्ठानले उपलब्ध स्रोतसाधन र जनशक्तिका आधारमा कालीकोटका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग पुर्‍याउनेछ । आवश्यकता र आपसी सहमतिमा विशेषज्ञ चिकित्सकसहितको शिविरमार्फत परामर्श, परीक्षण र उपचार सेवा दिइनेछ । जटिल प्रकृतिका बिरामीको उपचार, रेफरल, विशेषज्ञ परामर्श तथा आवश्यक फलोअपका लागि प्रतिष्ठानसँग प्रत्यक्ष समन्वय गरिने उल्लेख छ । यसैगरी, स्वास्थ्यसम्बन्धी तथ्याङ्कको गोपनीयता कायम राख्दै संयुक्त अध्ययन–अनुसन्धान, अनुभव आदानप्रदान तथा सेवाको गुणस्तर सुधारसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने भएको छ । दुवै संस्थाबीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सेवा प्रवाहलाई नियमित, प्रभावकारी र गुणस्तरीय बनाउन दुवै पक्ष प्रतिबद्ध रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी दिए । ‘दक्ष जनशक्ति र विशेषज्ञ डाक्टरको अभाव झेल्दै आएको कालीकोट जिल्ला अस्पताललाई यो सम्झौताले थप सुदृढ बनाउनेछ,’ उनले भने, ‘यो ऐतिहासिक सम्झौता भएकाले छिट्टै कार्यान्वयनमा आउनेछ ।’ प्रतिष्ठानबाट जनशक्ति आपूर्ति भएसँगै जटिल प्रकृतिका बिरामीहरू सामान्य उपचारका लागिसमेत जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्ने र सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास डा. सुनारले व्यक्त गरे ।  सम्झौता कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य सेवा कार्यालय कालीकोटकातर्फबाट स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनारसहितको प्राविधिक टोलीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार