सोसल मिडिया
Contact Us
युनिकोड
सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा जारी प्रदर्शन बिहीबार हिंसात्मक बनेपछि गोलीकाण्ड, आगजनी, तोडफोड र कफ्र्युको अवस्था सिर्जना भएको छ । बिहानदेखि नै गोलबजार क्षेत्रमा प्रदर्शनकारीहरूले नाराबाजी गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सुरुवातमा आन्दोलन शान्तिपूर्ण प्रदर्शन र नाराबाजीमै सीमित देखिए पनि दिउँसो करिब २ बजेदेखि अवस्था अचानक तनावपूर्ण बनेको थियो । गोलबजार नगरपालिका–४ क्षेत्रमा दुई समूह आमनेसामने भएपछि दुवैतर्फबाट चर्को नाराबाजी सुरु भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचमा रहेर अवस्था नियन्त्रण गर्ने प्रयास गरिरहे पनि केही समयपछि दुई समूहबीच लखेटालखेट र ढुंगामुढा सुरु भयो । झडप चर्किएसँगै भीडको एक समूहले नेपाल टेलिकम कार्यालय नजिक पार्किङमा राखिएका करिब २१ वटा मोटरसाइकलमा तोडफोड गरी आगजनी गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । आगो र बाक्लो धुवाँले राजमार्ग ढाकिएपछि दमकल परिचालन गरिएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा कफ्र्यु आदेश जारी गर्यो भने नेपाली सेना समेत परिचालन गरिएको थियो । झडपपछि प्रदर्शनकारीहरू क्याम्पस रोडतर्फ पुगेका थिए । केही समय अवस्था सामान्य देखिए पनि त्यसपछि गोली चलेको प्रत्यक्षदर्शीहरूको भनाइ छ । गोली लागेर सिरहाको औरही गाउँपालिका–२ तुलसियाही निवासी १५ वर्षीय गणेश यादव र धनुषाको धनुषाधाम नगरपालिका निवासी १९ वर्षीय सुभाष ठाकुर घाइते भएका थिए। घटनापछि दुवैलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा गणेश यादवको मृत्यु भएपछि प्रदर्शन थप आक्रोशित बनेको थियो। त्यसपछि बजारका विभिन्न स्थानमा पसल, होटल तथा अन्य व्यावसायिक संरचनामा तोडफोड र आगजनी भएका स्थानीयले बताएका छन् । साँझतिर सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि पटक–पटक अश्रुग्यास प्रहार गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा व्यवस्था कडा बनाएपछि विस्तारै प्रदर्शनकारीहरू सडकबाट हट्न थालेका थिए । मृतक गणेश यादवका आफन्तहरूले दोषीमाथि कारबाहीको सुनिश्चितता नभएसम्म शव नउठाउने अडान लिएपछि केहीबेर प्रहरी र आफन्तबीच धकेलाधकेलसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। पछि प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक प्रक्रियाका लागि लगेको थियो । घाइते सुभाष ठाकुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १२ देखि १५ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालको मुखमा चोट लागेको र उपचारका क्रममा टाँका लगाइएको प्रहरीले जनाएको छ। बिहीबार रातिसम्म गोलबजार क्षेत्रमा कफ्र्यु जारी रहँदा सडकमा जलेका मोटरसाइकल, फुटेका सिसा, अश्रुग्यासका खोल र सुरक्षाकर्मीको बाक्लो गस्ती मात्र देखिन्थ्यो। बिहान सामान्य नाराबाजीबाट सुरु भएको प्रदर्शन साँझसम्म आइपुग्दा गोलीकाण्ड, एक जनाको मृत्यु, आगजनी, तोडफोड र कफ्र्युको अवस्थासम्म पुगेको छ। घटनाको वास्तविक कारण, गोली चलेको परिस्थिति र हिंसा कसरी चर्कियो भन्ने विषयमा निष्पक्ष अनुसन्धानपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।