सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासको सुनुवाइ गर्दै विपक्षीका नाममा उक्त आदेश जारी गरेको हो । पंकज विक्रम नेम्बाङसहितको तर्फबाट दायर गरिएको उत्प्रेषणयुक्त परमादेशको रिटमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले लिखित जवाफ प्राप्त भई अन्तिम सुनुवाइ हुँदा थप विवेचना हुने उल्लेख गरेको छ । त्यसअघि तत्कालका लागि एन्फा पदाधिकारीहरूको यात्रामा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । अदालतले राष्ट्रिय खेलकुद परिषद्ले २०८२ चैत ११ गते एन्फालाई निलम्बन गरेको भएपनि उक्त निलम्बन २०८३ जेठ १ गते फुकुवा भइसकेको अवस्थालाई आदेशको आधार बनाएको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले एन्फाका अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको अन्तर्राष्ट्रिय सहभागिता तथा वैदेशिक भ्रमण रोक्न गृह मन्त्रालय र अध्यागमन विभागमा पत्राचार गर्न युवा तथा खेलकुद मन्त्रालयलाई लेखेको पत्रसहित त्यसपछिका विभिन्न निकायमा भएका पत्राचारसमेत तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम जारी गरिएको अन्तरिम आदेशमा एन्फाका पदाधिकारी तथा सदस्यहरूको यात्रामा कुनै अवरोध नगर्न विपक्षीहरूलाई निर्देशन दिइएको छ । अदालतले आदेशको जानकारी सम्बन्धित विपक्षी निकायहरूलाई उपलब्ध गराउन पनि आदेश दिएको छ। अब उक्त रिटमाथि विपक्षीको लिखित जवाफ प्राप्त भएपछि अन्तिम सुनुवाइमार्फत विवादको टुंगो लाग्नेछ ।