कुशलको शतकमा नेपालको लगातार दोस्रो जित

बिहीबार, जेठ २१, २०८३

काठमाडौं । ओपनर कुशल भुर्तेलको कीर्तिमानी प्रर्दशनमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रुपमा एसियाली खेलकुद (एसियाड) छनोटको सेमिफाइनलमा पुगेको छ। मलेसियामाथि १ सय ६८ रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह एको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालसँग हारका बाबजुद पनि मलेसियाले समुह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई हराएका नेपाल र मलेसियाले यसअघि नै एसियाड स्थान बनाइसकेका छन् । नेपालले दिएको २ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन मात्र बनाउन सक्यो ।
मलेसियालाई कम स्कोरमा रोक्न शेर मल्लले ४ ओभरमा १४ खर्चेर ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरि र कुशल मल्लले समान एक विकेट लिए । मलेसियाका लागि कप्तान सयाद अजिजले सर्वाधिक ५४ रन बनाए । सरभिन मुनिएन्डीले १८ रन थपे। ओपनर मुहम्मद हजिक एमानले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
त्यसअघि सिंगापुर नेशनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रनको विशाल योगफल तयार पारेको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले कीर्तिमानी प्रर्दशन गरे । मलेसियाविरुद्ध शतक प्रहार गरेका कुशल टि ट्वान्टी आई मा नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी बने। २५ बलमा अर्धशतक पूरा गरेका कुशलले ४४ बलमा शतक पूरा गरे । उनले ४४ बलमा १० चौका र ७ छक्का सहयोगमा शतक पूरा गरेका थिए । मलेसियाविरुद्ध ५४ बलमा १४ चौका र ८ छक्का सहयोगमा १ सय २६ रन बनाएका कुशल क्याच आउट हुन पुगे । आशिफ शेख ६८ रन बनाउँदै आउट भए। उनले २४ बलमा ५ चौका र ७ छक्का हाने । कप्तान दीपेन्द्र सिंह ऐरिले ११ बलमा १ चौका र ४ छक्का सहयोगमा ३१ रन बनाउँदा क्याच आउट हुन पुगे । सन्दीप जोराले १५, लोकेश बलमे १० रन थपे। कुशल मल्ल ९ र सोमपाल कामी १ रनमा अविजित रहे । मलेसियाका लागि विरनदिप सिंहले ३ विकेट लिए। सयाद अजिज र विजय युन्नीले समान २ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार