सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शीर्षस्थानको स्कटल्यान्डलाई ६ विकेटले स्तब्ध बनाउँदै नेपाल आइसीसी विश्व कप लिग २ को अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । साथै नेपालले पहिलो खेलमा भोगेको हारको बदला लिन पनि नेपाल सफल रहेको छ । आजको जितमा स्टार लेग स्पिनर सन्दीप लामिछानेको विश्व कीर्तिमान, रोहित पौडेल र इशान पाण्डेको सतकीय साझेदारीसँगै दुवैको अर्धशतक प्रमुख रह्यो । जितको लागि १ सय ९५ रनको लक्ष्य ३८.१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ५८ रनको साझेदारी गर्दै सन्तोषजनक सुरुवात दिलाए। आशिफ २९ रन जोडेर रन आउट भए लगत्तै कुशल पनि २८ रनमा पबिलियन फर्किए । यसपछि इशान र रोहितले ७.२ ओभर देखि २९.५ ओभरसम्म तेस्रो विकेटको लागि १ सय ४ रनको शतकीय साझेदारी गर्दै नेपालको जितलाई सहज बनाए । वान डाउनमा क्रिजमा छिरेका इशानले सामना गरेको ५३ औं बलमा मार्क वाटलाई नो बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए । उनले ५३ बलमा ५ चौका र २ छक्का प्रहार गरे । उनको यो करियरको पहिलो ओडिआई अर्धशतक हो । उनी ५५ रनमा आउट भए । रोहितले पनि अर्धशतक बनाए । ७६ बलमा २ चौका र १ छक्का सहित १२ औं ओडिआई अर्धशतकको सफलता प्राप्त गरे । उपकप्तान दीपेन्द्र भने २ रनमा आउट भए । ४ विकेटको क्षतिमा नेपालले १ सय ६७ रन बनाउँदा जितको लागि २८ रन मात्र आवश्यक थियो । जितको लागि २ रन जरुरी हुँदा मापकल लिस्कको बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए। ९८ बल खेल्दै रोहित अविजित ७४ रनमा रहे। आरिफ शेख अविजित ८ रनमा रहे । बलिङमा स्कटल्यान्डका खेलाडीहरूको प्रदर्शन फितलो रह्यो। मार्क वाटले १० ओभरमा १ मेडन सहित ५८ रन दिएर २ विकेट लिए । ब्रान्डन मकमलेनले १ विकेट झारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ३९.१ओभर ओभरमा सबै विकेट गुमाएर १ सय ९४ रनमा समेटियो । स्कटल्याण्डका ओपनर फिन्ले म्याक क्रेथ ६ रनमा दीपेन्द्रको बलमा एलबिडब्लु आउट भए। पहिलो विकेटको नोक्सानीमा १८ रन बनाएको थियो। यसपछि जर्ज मुन्सी र ब्रान्डन मकमलेनले दोस्रो विकेटको लागि ५३ रनको साझेदारी गरे । मुन्से २१ रनमा सन्दीपको बलमा आउट भए। तेस्रो विकेटको रूपमा कप्तान रीची बेरिङ्गटन १२ बलमा ललित नारायण राजवंशीको बलमा आउट भए। उनले तीन खेलपछि लिएको यो पहिलो विकेट हो । यसपछि क्रिजमा जमेका मकमलेनलाई सन्दीपले इशान पाण्डेद्वारा क्याच आउट गराउँदै विश्व रेकर्ड कायम गरे। उनी विश्व एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने खेलाडी बने । उनले अष्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्। मिचेलले सन् २०१९ को विश्व कपमा वेस्ट इन्डिज विरुद्धको खेलमा ७७ खेलमा १ सय ५० विकेटको कीर्तिमान बनाएका थिए । सन्दीपले ७३ खेल खेल्दै ७१ इनिङ्समा १ सय ५० विकेट लिंदै स्टार्सको रेकर्ड तोडे । मकमलेनले ४४ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गर्दै टिमको लागि सर्वाधिक ७३ रन जोडे। लगतै म्याथ्यु क्रस १ रनमा आउट भए। र मार्क वाट २० रनमा आउट भए । ६ विकेट गुमाउँदा स्कटल्यान्डले १ सय ७५ रन बानएको थियो । यसपछि १ रन बनाएका माइकल लिस्क, रनको खाता नखोलेका ओलिभर डेबिडसन २ रन बनाएका ओलि जोन्स तीनै खेलाडी ललितको बलमा आउट भए । माइकल लिस्क भने क्रिजमा टिके। उनले ६९ बलमा ४ चौका र १ छक्का सहित अर्धशतक बनाए । बलिङमा ललितले उत्कृष्ट कमब्याक गरे। उनले ८ ओभरमा ३२ रन दिएर ४ विकेट लिए। सन्दीपले १० ओभरमा ४७ बल दिंदै ३ विकेट लिए । लिग २ मा स्कटल्यान्डको यो नवौं हार हो। ३८ अंक सहित शीर्षस्थानमा रहँदा नेपाल २२ अंक सहित पाँचौं स्थानमा उक्लियो । नेपाल र नामिबियाको समान २२ अंक भएपनि नेपाल रन रेटको आधारमा अगाडि छ । बुधबार स्कटल्यान्ड र अमेरिकाबीच खेल हुनेछ । सिरिजको अन्तिम खेल शुक्रबार नेपाल र अमेरिकाबीच हुनेछ ।