‘मितज्यू’को ट्रेलर सार्वजनिक

दयाहाङले भने, ‘तेरियाकै कारण फिल्म प्रतीक्षित बन्यो’
सोमबार, वैशाख २८, २०८३

काठमाडौं । नेपाली चलचित्र ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले एक विशेष कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले फिल्मले सुन्दर पक्ष पाएको भन्दै अभिनेत्री तेरिया फौजा मगरको प्रशंसा गरे । उनले तेरियाकै कारण फिल्म लामो समयदेखि प्रतीक्षित बनेको उल्लेख गर्दै ट्रेलरबाटै दर्शकले कलाकारहरूको अभिनय देखिसकेको बताए । साथै उनले सौगात मल्ल र आफूले यसअघि सन्तुष्ट हुनेगरी काम गर्न नपाएको भए पनि ‘मितज्यू’ मा भने केही हदसम्म कामको धित मरेको अनुभव भएको प्रतिक्रिया दिए । निर्देशकसँग काम गर्दा विशेष आनन्द लागेको पनि उनले बताए । उनले भने, ‘यो फिल्मले पाएको सुन्दर पाटो पाएको भनेको तेरिया फौजा मगर हो । उसैको लागि यो सिनेमा घरिघरि पर्खिएको थियो । अभिनयको लागि मैंले भन्नु केही छैन । हामी सबैले ट्रेलर देखिनै सकेका छौं । सौगात र मैंले पनि यो फिल्ममा धित मरुन्जेल काम गर्न पाएका छैनौं । करिब मितज्यूमा अलि अलि धित मरेको छ । सिनेमामा काम गर्दा आनन्द लाग्ने भनेको एउटा यस फिल्मका डिरेक्टर हो ।’ त्यसैगरी, तेरिया फौजा मगरले ‘मितज्यू’ आफ्नो लागि केवल फिल्म नभई भावनात्मक रूपमा जोडिएको परियोजना भएको बताइन् । डेब्यु फिल्म भएकाले आफू निकै नर्भस भएको स्मरण गर्दै उनले दयाहाङ राई र सौगात मल्लजस्ता कलाकारसँग स्क्रिन सेयर गर्न पाउँदा खुसी लागेको बताइन् ।
उनले भनिन्, ‘यो हाम्रो लागि फिल्म मात्र नभएर सबैजनाको इमोशनल जोडिएको छ । मेरो लागि धेरै नै प्यारो छ यो फिल्म । डेब्यु फिल्मको लागि म एकदमै धेरै नर्भस थिए । दयाहाङ राई, सौगात मल्ल दाईहरुसँग स्क्रिन सेयरगर्दा एकदमै खुसी लागेको छ ।’ आगामी जेठ ८ गतेबाट उक्त फिल्म प्रदर्शनमा आउँदैछ । अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई र सौगात मल्लसहित तेरिया फौजा मगर, खड्गबहादुर पुन (खबपु) पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगरलगायतको अभिनय छ । तेरियाको यो डेब्यू फिल्म हो । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्तीमगर हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार