वर्षाले प्रभावित खेलमा ओमानसँग नेपाल पराजित

बुधबार, वैशाख १६, २०८३

काठमाडौं । जतिन्द्र सिंहको सानदार शतकमा ओमानले आइसिसी विश्वकप लिग टुमा नेपाललाई डिएल मेथडमा १ सय २ रनले हराएको छ। लिग टुमा ओमानको यो १४ औं जित हो । जितको लागि ३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बानउँदा पानी पर्न सुरु गर्‍यो । यसपछि खेल हुन नसकेपछि ओमानले डिएल मेथडमा जित हात पार्‍यो ।  नेपालले खराब सुरुवात गर्‍यो । दोस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल १ रनमा सकिब अहमदद्वारा एलबिडब्लु आउट भए । १ रन जोड्दा ओपनर गुमाएको नेपालले ३३ रन बनाउँदा अर्का ओपनर आशिफ शेखलाई पनि गुमायो । २५ रन जोडेर आशिफ पनि सकिब कै बलमा आउट भए । पहिलो पावर प्लेमा नेपालले २ विकेटको नोक्सानीमा ३६ रन बनायो । पानी पर्ने संभावन उच्च रहँदा नेपालले सम्हालिएर खेल्नुपर्ने थियो। तर त्यसो भएन । कप्तान रोहित १० रन बनाएर नदिम खानको बलमा बोल्ड आउट भए। १६ औं ओभरमा रोहित आउट हुँदा नेपालले ५४ रन बनाएको थियो। लगत्तै बसिर अहमद १ रनमा पबिलियन फर्कदा नेपाली इनिङ्स संकटमा पर्‍यो ।  नेपालले कुनै पनि समय ठूलो साझेदारी बन्न सकेन । भीम सार्की २८ रनमा र आरिफ शेख १४ रनमा आउट भए। १ सय ६ रन जोड्दा नेपालले ६ विकेट गुमायो । यो सँगै नेपालको हार लगभग निश्चित भएको थियो । यो खेलमा पनि दिपेन्द्र सिंह ऐरीको ब्याटबाट रन बन्यो । उनी जारी सिरिजमा लगातार दोस्रो पटक अर्धशतक बनाउन सफल रहे । ६२ बल खेल्दै ७ चौका र १ छक्का सहित ६० रमको पारी खेलेर मोहम्मद इमरानको बलमा वासिम अलिद्वारा क्याच आउट भए । लिग टुका पछिल्लो ४ खेलमा उनको यो तेस्रो अर्धशतक हो भने ओडिआईको सातौं अर्धशतक हो । उनी आउट हुँदा नेपालले १ सय ५३ रन बनाएको थियो । क्रिजमा गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहँदा पानी पर्न सुरु भयो । बलिङमा ओमानका नदिम खानले सर्वाधिक ३ विकेट र सकिल अहमदले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनाएको थियो । ओमानले नेपाली बलरहरूलाई दबाब दिंदै राम्रो सुरूवात गर्‍यो । ओपनरद्वय जितेन्द्र सिंह र आशिष ओडेडाराले पहिलो पावर प्लेमा ५९ रन बनाए। १० ओभर सम्म फास्ट बलरहरू करण केसी, सोमपाल कामी र गुल्सन झाले विकेट झार्न सकेनन् । १४ औं ओभरको अन्तिम बलमा बसिर अहमदको बलमा छक्का प्रहार गर्दै जतिन्द्रले ३८ बलमा ७ चौका र ३ छक्का सहित अर्धशतक बनाए। यो साझेदारीलाई सन्दीपले तोडे । १५ औं ओभरको दोस्रो बलमा २३ रन बनाएका आशिष ओडेडारा आउट भए। पहिलो विकेट गुमाउँदा ओमानले ८० रन बनाएको थियो । यसपछि १६ औं ओभरको पाँचौं बलमा दीपेन्द्र सिंह ऐरीले १ रन बनाएका नउिम खानलाई बोल्ड आउट गरे । २० ओभर ५ बलमा २ विकेटको नोक्सानीमा ओमानले १०० रन पुरा गर्‍यो ।  दीपेन्द्रले तेस्रो विकेट लिए । उनले ३० रन बनाएका हमाद मिर्जालाई भीम सार्कीद्वारा क्याच आउट गराए। तेस्रो विकेटको नोक्सानीमा ओमानले १ सय ६४ रन बनाएको थियो । नेपाली बलरहरूलाई निरिह बानउँदै जतिन्द्रले शतक बनाए। उनले ७१ बल खेल्दै १३ चौका र ३ छक्का सहित शतक बनाए । जतिन्द्रको नेपालविरूद्ध यो दोस्रो शतक हो । ओडिआईमा भने उनको यो पाँचौं शतक हो । जतिन्द्रको महत्वपूर्ण विकेट सोमपाल कामीले लिए । ९६ बल खेल्दै १५ चौका र ५ छक्कासहित १ सय ३० रन जोडेर जतिन्द्र सोमपालको बलमा बसिरद्वारा क्याच आउट भए। उनको करियरको यो सर्वाधिक रन हो । यसअघि उनले १ सय १८ पिएनजी विरूद्ध बनाएका थिए । चौथो विकेटको नोक्सानीमा ओमानले ३४ ओभर ६ बलमा १ सय ९२ रन बनाएको थियो । पाँचौं विकेट सन्दीपले लिए। ३५ रन बनाएका आर्यान बिष्ट ३५ रनमा आउट भए । यसपछि २३ रन बनाएका विनायक शुक्लालाई सपमपाल कामीले पबिलियनको बाटो देखाइदिए । ६ विकेटको नोक्सानीमा ओमानले २ सय ८७ रन बनाएको थियो। सोमपालले अन्तिम ओभरको पहिलो बलमा ४३ रन बनाएका जितेन रामानन्दी बोल्ड आउट भए। लगतै अर्को बलमा सोमपालले सकिब अहमदलाई डक आउट गरे । बलिङमा सोमपालले ९ ओभरमा ५९ रन दिएर सर्वाधिक ४ विकेट लिए । सन्दीपले किफायती बलिङ गरे। उनले १० ओभरमा मात्र २४ रन दिएर २ विकेट लिए। दीपेन्द्रले पनि २ विकेट झारे । १४ औं जितमा ३१ अंक बनाएको ओमान अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। नेपालको यो १४ औं हार हो। १४ अंक सहित नेपाल सातौं स्थानमा रहेको छ । अब शुक्रबार नेपाल र युएईबीचको खेल हुनेछ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार