नेपालको पहिलो जित, रुविना र पूजाको उत्कृष्ट प्रदर्शन

सोमबार, वैशाख ७, २०८३

काठमाडौं । रुविना क्षेत्री र पूजा महतोको उत्कृष्ट प्रदर्शनमा नेपालले रुवान्डामा जारी आइसिसी वुमन्स च्यालेन्ज ट्रफीमा पहिलो जित हात पारेको छ । नेपालले इटालीलाई ५० रनले हरायो । जितको लागि १ सय १३ रनको लक्ष्य पछाएको इटाली १८.४ ओभरमा सबै विकेट गुमाएर मात्र ६२ रनमा समेटियो । नेपाली बलरको सानदार प्रदर्शनमा इटालीका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। ५ विकेट गुमाउँदा इटालीले २८ रन बनाएको थियो । पाँचौं क्रमकी खेलाडी चाथुरिका महामलागे अविजित २२ रनमा रहिन् । पासिन्दी नानायाकाराले १२ रन जोडिन् । यी दुई बाहेक अन्यले दोहोरो अंकमा रन छुन समेत सकेनन् । इटालीले १० रन नेपाली बलरबाट एक्स्ट्रा रन पाएका थिए । ब्याटबाट इटालीले ५२ रन मात्र बनाउन सक्यो । इटालीलाई ६२ रनमा रोक्न रुविनाले तारिफयोग्य प्रदर्शन गरिन् । उनले २.४ ओभरमा १ मेडन सहित मात्र ४ रन दिएर ४ विकेट लिइन् । निकै किफायती बलिङ गरेकी रुबिना नै प्लेयर अफ दी म्याच बनिन् । यस्तै कविता कुँवरले २ विकेट निकालिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर‌ ८ विकेट गुमाउँदै १ सय १२ रन बनायो । ओपनर सम्झना खड्का १६ रनमा र बिन्दु रावल १५ रनमा आउट भए । वान डाउनमा क्रिजमा छिरेकी पूजाले इनिङ्स सम्हालिन् । उनलाई अन्य खेलाडीले साथ दिन सकेनन् । पूजाले ४५ बल खेल्दै २ चौका र १ छक्का सहित अविजित ४८ रनको उत्कृष्ट पारी खेलिन् । कप्तान इन्दु बर्माले १० रन बनाइन् । यसपछि क्रिजमा आएका अन्य खेलाडीले दोहोरो आँकडा पार गर्न सकेनन् । बलिङमा इमिलोया बारट्रामले ३ ओभरमा २१ रन दिएर ३ विकेट लिइन् । दोस्रो खेलमा नेपालको यो पहिलो जित हो । नेपालले २ अंक बनाएको छ । नेपाल हिजो पहिलो खेलमा अमेरिकासँग ४४ रनले हारेको थियो । दोस्रो खेल खेलेको इटालीको यो पहिलो हार हो । इटालीले हिजो घरेलु टोली रूवान्डालाई डिएस मेथडमा १६ रनले हराएको थियो । उसको पनि २ अंक छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ०९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार