शीर्ष स्थानको पञ्जाबसँग लखनऊ पराजित

सोमबार, वैशाख ७, २०८३

काठमाडौं । पञ्जाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । प्रियांश आर्या र कूपर कोनोलीको विस्फोटक १ सय ८२ रनको साझेदारीले पञ्जाबलाई विशाल स्कोरसम्म पुर्‍याएको हो । मुल्लानपुरमा भएको खेलमा पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । जवाफमा लखनऊले ५ विकेट गुमाएर २सय रन मात्र बनाउन सक्यो । पञ्जाबले प्रारम्भिक विकेट गुमाए पनि दोस्रो विकेटका लागि प्रियांश आर्या र कूपर कोनोलीले शानदार साझेदारी गरे। दुबैले १ सय ८२ रनको साझेदारी गर्दै खेलको दिशा पूर्ण रूपमा परिवर्तन गरे ।प्रियांश आर्याले मात्र ३७ बलमा ९३ रन बनाए, जसमा ९ छक्का र ४ चौका समावेश थिए। कूपर कोनोलीले ४६ बलमा ८७ रनको योगदान दिए। उनीहरूको आक्रमणले लखनऊका बलरहरूलाई दबाबमा पारेको थियो । लक्ष्य पछ्याउने क्रममा लखनऊका आयुष बदोनी (३५) , मिचेल मार्श (४०) , ऋषभ पन्त र एइडेन मार्कराम (४२) ले केही राम्रो योगदान दिए । तर नियमित अन्तरालमा विकेट गुमाउँदा टोली ठूलो लक्ष्य नजिक पुग्न सकेन । कप्तान ऋषभ पन्तले २३ बलमा ४३ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । पञ्जाबका बलरहरूले मध्यक्रममा महत्वपूर्ण विकेट लिएपछि लखनऊको रन गति सुस्त बन्यो। त्यसपछि पञ्जाबले खेलमा पकड कायम राख्दै सहज जित निकालेको हो । यो जितसँगै पञ्जाब किंग्सले अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ०८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार