सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । टिम सेइफर्टको आक्रामक अर्धशतकको मद्दतमा न्युजिल्यान्डले टि ट्वान्टी विश्वकपको समूह चरणमा अफगानिस्तानलाई ५ विकेटले हराएको छ । एम. ए. चिदम्बरम स्टेडियममा आज १ सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा १३ बल बाँकी छँदै जित निकालेको हो । सेइफर्ट र ग्लेन फिलिप्सबीचको तेस्रो विकेटका लागि बनेको साझेदारी निर्णायक रह्यो । तर न्युजिल्याण्डको सुरुवात भने खराब रह्यो । दोस्रो ओभरमा मुजिब उर रहमानले फिन एलेन (१) र रचिन रविन्द्र (०) लाई लगातार बलमा आउट गरे । १.४ ओभरमा स्कोर १४–२ हुँदा फिलिप्स सेइफर्टसँग क्रिजमा आए । त्यसपछि दुवैले आक्रामक खेल्दै तेस्रो विकेटका लागि ७४ रनको महत्वपूर्ण साझेदारी गरे । अफगानिस्तानका कप्तान राशिद खानले १०औँ ओभरमा फिलिप्सलाई आउट गर्दै यो साझेदारी तोडे । फिलिप्सले २५ बलमा ७ चौका र १ छक्कासहित ४२ रन बनाए । त्यसपछि सेइफर्टले मार्क च्यापम्यानसँग चौथो विकेटका लागि ३६ रनको साझेदारी गरे। सेइफर्ट ४२ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ६५ रन बनाएर आउट भए । १६औँ ओभरमा २८ रन आवश्यक हुँदा च्यापम्यान १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाएर आउट भएपछि न्युजिल्यान्डलाई दबाब पर्यो । तर ड्यारिल मिचेल र कप्तान मिचेल स्यान्टनरले कुनै समस्या आउन दिएनन्। दुवैले १३ बलमा अविजित ३३ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याए। मिचेल १४ बलमा अविजित २५ रनमा रहे भने स्यान्टनर ८ बलमा अविजित १७ रन बनाए । अफगानिस्तानका लागि मुजीब उर रहमानले २, अजमतुल्लाह ओमरजाइ, राशिद खान र मोहम्मद नबीले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । अफगानिस्तानले इनिङ्सको सुरुवात राम्रो गरेको थियो। रहमानुल्लाह गुरबाज र इब्राहिम जद्रानले पहिलो ५ ओभरमा ३५ रन जोडे। तर लोकी फर्गुसनले दुवै ओपनरलाई आउट गर्दै न्युजिल्यान्डलाई खेलमा फर्काए । जद्रानले १२ बलमा १० रन बनाए भने गुरबाजले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे। त्यसपछि नजिबुल्लाह नैब र सेदिकुल्लाह अतलले तेस्रो विकेटका लागि ७९ रनको उत्कृष्ट साझेदारी गर्दै इनिङ्स सम्हाले । अतल १५औँ ओभरमा २९ रनमा आउट भए । नाइबले त्यसपछि दारविश रसूलीसँग चौथो विकेटका लागि ३३ रन जोडेपछि १८औँ ओभरमा रचिन रविन्द्रको बलमा आउट भए। नाइबले ३५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाए । अर्को ओभरको पहिलो बलमै रसूली १३ बलमा १ छक्का र १ चौकासहित २० रन बनाएर म्याट हेन्रीको बलमा आउट भए । अन्त्यतिर मोहम्मद नबी (अविजित १०) र अजमतुल्लाह ओमरजाइ (१४) ले ११ बलमा १८ रनको साझेदारी गर्दै अफगानिस्तानको स्कोर बढाए । न्युजिल्यान्डका लागि लोकी फर्गुसन सबैभन्दा सफल बलर बने। उनले चार ओभरमा ४० रन खर्चेर २ विकेट लिए। ज्याकब डफी, म्याट हेन्री र रविन्द्रले समान१ विकेट लिए ।