निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मा विजय र अञ्जना अनुबन्ध

शनिबार, माघ १०, २०८२

काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’ को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले मुख्य दुई कलाकार अनुबन्ध गरेको हो । अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन् । ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । यो चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोड भन्दा बढीको व्यापार गरेर इतिहास रचेको छ । निर्देशक पौडेलले ’पूर्णबहादुरको सारङ्गी’ मार्फत आफूलाई नेपालको ‘ब्लकबस्टर निर्देशक’ को रूपमा स्थापित गरे । उनले एउटा सामान्य गन्धर्व परिवारको कथा, बुबा–छोराको सम्बन्ध र शैक्षिक संघर्षलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरे, जसले देशभरका दर्शकलाई रुवायो र हलसम्म तान्यो । यो चलचित्र विजय बरालको करियरको टर्निङ पोइन्ट बन्यो । उनले ‘पूर्णबहादुर’ को केन्द्रीय भूमिका निर्वाह गरेका थिए । अञ्जनाले यस चलचित्रमा विजय बरालको श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले निर्देशक पौडेलले त्यही लक्की टिम विजय र अञ्जनालाई लिएर ‘सिन्दुरे जात्रा’ सुरु गर्न लागेसँगै पुनः एकपटक पर्दामा जादु चलाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार