क्रिकेट प्रशिक्षक टमाटासहित ५ जना राखेप सदस्यमा नियुक्त

शुक्रबार, पुस ११, २०८२

काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले टमटासहित शान्तकुमार महता, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ , राजेश खड्का र प्रयास कार्कीलाई पुस ९ गते राखेप सदस्यमा नियुक्त भएका हुन् । राखेपका पूर्वसदस्य सचिव टंकलाल घिसिङसहित ६ सदस्यको गत महिना कार्यालय सकिएपछि ती पद रिक्त थिए । खेलकुद मन्त्री गुप्ताले ५ जनालाई आज सिंहदरबारस्थित मन्त्रालयमा शपथ गराएका छन् । राखेपको क्रिकेटका पूर्व मुख्य प्रशिक्षक समेत रहेका टमटा राष्ट्रिय क्रिकेट टोली महिला, पुरुष, युवाको प्रशिक्षक पनि रहिसकेका छन् । सन् २०१८ मा नेपालले ओडिआई मान्यता पाउँदा टमटा नै पुरुष टोलीको मुख्य प्रशिक्षक थिए । हक्की र क्रिकेट दुबैका उनी पूर्व राष्ट्रिय खेलाडी हुन् । ‘लामो समय खेलकुदमा बिताए । त्यसकै आधारमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सदस्य नियुक्त गर्नु भएको छ, टमटाले भने, ‘उहाँले योगदानको कदर गरेको महसुस गरेको छु । मन्त्रीज्यूलाई विशेष धन्यवाद । भूमिका फरक भएपनि खेलकुदमा योगदान गर्न पाउँदा खुसी छु र आफ्नो ठाउँबाट राम्रो गर्ने कोसिस गर्नेछु।’ गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा टमटाले प्रशिक्षण दिएको सुदूरपश्चिम रोयल्स दोस्रो भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार